पेट्रोलियम आपूर्ति गर्न अझै असहज

39

नेपालगन्ज, मंसिर २९–
भारतले रुपैडिहा नाका केही खुकुलो पारेपनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न अझै असहज देखिएको छ । लामो समयदेखि अवरोध पु¥याउँदै आएको भारतले तीन दिन अघिदेखि उक्त नाकामा सवारी साधन आवत–जावत गर्न दिएको थियो । नाकामा आवत जावत सहज पारेपनि भारतीय आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्ति भने गरेको छैन । ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार नाकाबाट सोमबार ६ बुलेट एलपी ग्याँस र ५६ वटा अन्य मालबाहक सवारी साधन नेपालगन्ज भित्रिएका छन् । इप्रका जमुनाहाका प्रहरी सहायक निरिक्षक हरि गुरुङले नाकामा भारतीय सुरक्षाकर्मीबाट कुनै त्यस्तो अवरोध नभएको बताए । ‘रुपैडिहामा आएका जति सवारी साधनलाई प्रक्रिया पु¥याएर भारतीय पक्षले सिमा प्रवेश गर्न दिइरहेको छ,’ उनले भने ।

Tankar pic

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु पनि केहीदिन यता दसगजा क्षेत्रमा देखिन छाडेको प्रहरीले जनाएको छ । आन्दोलनकारी दसगजा क्षेत्रमा नहुँदा भारतीय सुरक्षाकर्मीले ट्रक तथा पेट्रोलियम ट्यांकर सिमा प्रवेश गराउन आफुहरुसँग समन्वय गर्दै आएको नेपाली सुरक्षाकर्मीले बताएका छन् । नाकाको अवरोध हटाएपनि भारतीय पक्षले इन्धन भर्ने ठाउँमा कडाई गरेको स्रोतले जनाएको छ । ‘नाकामा यतिखेर भारतीय पक्षबाट कुनै किसिमको अवरोध छैन, तर इन्धन लोड गर्ने ठाउँमा अझैपनि भारतीय पक्षले खुलेर सहयोग गर्दैनन,’ नेपाल आयल निगम नेपालगन्जका एक कर्मचारीले भने । आयल निगमका अनुसार इन्धन ढुवानी गर्न भारतको गोण्डा डिपोमा थुप्रै संख्याका पेट्रोलियम ट्यांकर पुगेका छन् ।

ती ट्यांकरमा सहज रुपमा इन्धन लोड गरिदिन भारतीय आयल निगमले विभिन्न बहाना लगाउने गरेको छ । ‘भारतीय आयल निगमका कर्मचारीले कहिले प्राविधिक समस्या देखाउँछन, कहिले साप्ताहिक बिदाको कारण देखाएर अल्झाउने काम गरिरहेका छन,’ नेपाल आयल निगमका कर्मचारीले सुनाए । नयाँ संविधान घोषणामा असन्तुष्टी जनाउँदै भारतले गत असोजको पहिलो सातादेखि अघोषित रुपमा नाकाबन्दी लगाउँदै आएको छ । त्यसयता मुलुकको सबैभन्दा बढी राजश्व संकलन हुने वीरगन्ज नाका ठप्प छ, भने विराटनगर, भैरहवा, कपिलबस्तु, धनगढीमा रहेका नाकालाई भारतीय पक्षले कहिले कडाई त कहिले खुकुलो पार्दै आएको छ । पश्चिम तराईको सबैभन्दा ठुलो रुपैडिहा नाकामा पनि भारतीय पक्षले पेट्रोलियम ट्यांकर र मालबाहक ट्रक तथा कन्टेनरलाई सिमा प्रवेशमा रोक लगाउँदै आएपनि केहीदिन देखि आवागमन सहज बनाएको छ ।

Womui
Womui