संविधान संशोधनअघि प्याकेजमा सहमति : मोर्चा

66

काठमाडौं, मंसिर ८–
व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन विधेयक पास गराउनका लागि समर्थन खोजेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निरास बनाइदिएको छ । मोर्चाआबद्ध तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग संविधान संशोधन विधेयक पारित गराउनलाई समर्थन खोज्न गएको कांग्रेस उपसभापति प्रकाशमान सिंह र प्रवक्ता दिलेन्द्र बडूको टोली निरास बनेर फर्किएको हो ।

मधेसी मोर्चाको समर्थन खोज्दै कांग्रेस नेता सानोठिमीस्थित ठाकुरनिवास पुगेका थिए । ’संविधान संशोधन गरेर अघि बढौं भन्ने हाम्रो प्रस्ताव थियो, तर उहाँ (ठाकुर) ले पहिला सीमांकन टुंग्याएर जाऊँ भनेर जोड गर्नुभयो,’ सिंहका सहयोगी युपी लामिछानेले भने, ’उहाँहरूले सीमांकन नटुंगिएसम्म अन्य विषयमा प्रवेश नै नगर्ने कुरा राखेपछि हामी फर्कियौं ।’ उनका अनुसार कांग्रेसको उक्त टोलीसमक्ष ठाकुरले सत्तारूढ दलसमक्ष गत कात्तिक १५ गते पेस गरेको ११ बुँदे मागको जवाफ अझै पनि नपाएको भन्दै आक्रोश पोखेका थिए । भेटमा ठाकुरले सप्तरीमा धर्नामा रहेका आन्दोलनकारीमाथि अनावश्यक रूपमा बल प्रयोग भएको बताएका थिए ।

संविधान संशोधन प्रस्तावले मधेसका एजेन्डा सम्बोधन गर्न नसक्ने भएकाले समर्थन दिन नसकिएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । ’न त्यो विधेयक मोर्चालाई सोधेर तयार पारिएको हो, न त्यसले मधेसका मुद्दा सम्बोधन नै गर्छ, त्यसकारण मोर्चाले समर्थन नजनाएको हो,’ कर्णले भने, ’सीमांकनसहित प्याकेजमा कुरो टुंगो लागेपछि मात्रै संविधान संशोधन गर्नुपर्छ, त्यसअघि हामी मान्दैनौं ।’ संविधान संशोधन विधेयक पारित गराउन मोर्चाले तत्काल समर्थन गर्न नसक्ने जवाफ यसअघि नै दिइसकेको कर्णले बताए । उनका अनुसार सीमांकन विवाद टुंगिएपछि हालको संशोधन प्रस्ताव खारेज गरी नयाँ प्रस्ताव लैजानुपर्नेमा मोर्चाले जोड गर्दै आएको छ । संविधान निर्माणको नेतृत्वकर्ता तीन प्रमुख दलमध्ये नेकपा एमाले र एनेकपा माओवादीको चर्को असहमतिका बाबजुद तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको थियो । आजको नागरिकमा छ ।

Womui
Womui