बिरामी नआउँदा रित्तिदै अस्पताल

116

नेपालगन्ज, मंसिर २–
बिरामीले खचाखच भरिने भेरी अञ्चल अस्पताल अचेल सुनसान देखिन्छ । अस्पतालको ओपिडी, आपतकालिन, लगायत सबै कक्षमा बिरामीको भिड घटेको छ । बिरामीको चाप घट्दा चिकित्सक र स्वास्थ्यकर्मीको व्यस्तता पनि कम भएको छ । झण्डै दुई महिनादेखि भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न इन्धन अभावले सार्वजनिक सवारी साधन सहज रुपमा नचल्दा अस्पतालमा बिरामीको चाप घटेको हो । भेरी अंचल अस्पतालमा मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट उपचारका लागि बिरामीहरु आउँछन् । इन्धन समस्याले सहज रुपमा आवत जावत गर्न नसकेपछि गम्भिर खालका बाहेक सामान्य अवस्थाका बिरामी आउन छाडेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर श्यामसुन्दर यादवले बताए । ‘आवत जावत गर्न सहज नभएपछि बिरामीको संख्या स्वभाविक रुपले कम भएको छ,’ उनले भने ‘गम्भिर प्रकृतिका विरामी एम्बुलेन्स रिर्जभ गरेर आएपनि सामान्य अवस्थाका बिरामीलाई सहज नहुन सक्छ ।’ अस्पताल प्रशासनका अनुसार अहिले करिव ५० प्रतिशत बिरामी घटेका छन् ।

Bheri Hospital

मेडिकल सुपरिटेन्डेण्ट डाक्टर यादवका अनुसार यसअघि अस्पतालको ओपिडी कक्षमा दैनिक ७ सय बिरामी विभिन्न रोगको स्वास्थ्य जाँच गराउन आउथे । ‘अहिले त दैनिक रुपमा बिरामीको संख्या २ सय पुग्न पनि मुस्किल हुन्छ,’ उनले भने । यस्तै आपतकालिन कक्षमा दैनिक १ सयको हाराहारीामा आउने बिरामीको संख्या घटेर ३० देखि ४० मा झरेका छन् । अस्पतालमा बिरामीको चाप एकातिर घट्दै गएको छ, भने औषधीको मौज्दात पनि रित्तिदै गएको छ । अस्पतालले सञ्चालन गरेका आईसियु, एनआईसियु कक्षमा आवश्यक पर्ने अक्सिजन सिलिण्डर खपत गर्नमा समस्या भएको छ । औषधीको मौज्दात कम भएपछि भेरी अञ्चल अस्पताल नेपालगन्जले फर्मसँग पटक–पटक माग्दै आएको छ । इन्धन अभावको कारण देखाउँदै अहिले सम्म कुनैपनि फर्मले औषधी पु¥याउन नसकेको यादवले सुनाए । उनले भने, ‘अस्पतालमा आवश्यक पर्ने सबै प्रकारको औषधी पठाउन ताकेता गरिरहेका छौं, तर सबै फर्मले इन्धन समस्याका कारण जिल्ला बाहिरबाट औषधी ल्याउन नसकेको जवाफ दिन्छन् ।’ अस्पतालसँग रहेको औषधीको मौज्दात करिव सकिन लागेकाले केही दिनमै समस्या बल्झिने सक्ने मेसु यादव बताउँछन् ।

बिरामीको चाप त्यति नभएकाले पुरानै मौज्दातको औषधीले धानेको अस्पतालले जनाएको छ । अस्पतालले औषधी खरिदका लागि करिव आधा दर्जन फर्मसँग ठेक्का सम्झौता गरेको छ । अस्पताललाई आवश्यक परेको समयमा फर्मले औषधी पु¥याउनुपर्ने हो, तरपनि अहिले सम्म मौज्दात छैन । अस्पतालले हरेक प्रकारको औषधी खरिदका लागि अलग्गै ठेक्का खोल्छ । अधिकांस फर्मले वीरगन्ज नाकाबाट भित्रिने औषधी ल्याएर वितरण गर्ने भएका कारण नाकाबन्दीपछि उत्पन्न इन्धन संकटले आपुर्ति अनियमित गराएको हो । यसअघि लामो समयसम्म चलेको मधेस र थरुहट आन्दोलनका कारण अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवा पनि समस्यामा परेका थिए । इन्धन समस्याका कारण नेपालगन्ज र कोहलपुरका अन्य सबै अस्पतालमा पनि बिरामीको चाप घटेको छ ।

Womui
Womui