नाकाबन्दीका कारण आयात १८ प्रतिशत घट्यो

37

काठमाडौं, कात्तिक २७–
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले घटेको छ । तराईमा जारी आन्दोलनले सीमा नाकाहरुमा समस्या अवरुद्ध भएपछि भारतसहित तेस्रो मुलुकबाट हुने आयातमा कमी आएको हो । यस वर्ष साउन र भदौमा १ खर्व ६ अर्ब रुपैयाँ बराबरको सामग्री नेपाल भित्रिएको ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले जनाएको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनासम्म १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको थियो ।

सोयाविन तेल, रासायनिक मल, उनी, तयारी कपडा, फलाम, जिंकबाहेक विदेशबाट आउने हुने सबै वस्तु आयातको दर घटेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी सुनको आयात ८२ दशमलव ९ प्रतिशतले घटेको निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । यस वर्ष साउन र भदौमा २ अर्व २५ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । केन्द्रको तथ्यांक अनुसार हवाइ पार्टपूर्जाको आयातमा ५२ प्रतिशतले कमी आएको छ । यसैगरी भारतबाट हुने पेट्रोलियम पदार्थको आयातमा झण्डै ४५ प्रतिशतले कमी आएको दखिएको छ ।

अघिल्लो वर्ष यस्तै अवधिमा २१ अर्व ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएकोमा यसवर्ष ११ अर्व ८५ करोड रुपैयाँ बराबरको आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । तर, अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य घटेका कारण रकममा आयात घटेको देखिएपनि परिमाणमा भने खासै ठूलो गिरावट नआएको नेपाल आयल निगमले जनाएको छ । साउन र भदौ महिनामा तयारी सिमेन्ट ४२ प्रतिशत र सिमेन्ट क्लिंकर ४० प्रतिशत कम नेपाल भित्रिएको छ । यसैगरी तामाको आयात ३५ प्रतिशतले घट्दा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको आयातमा पनि ३४ प्रतिशतले गिरावट आएको तथ्यांकमा उल्लेख छ ।

Womui
Womui