‘खाने मुखलाई जुँगाले छेक्दैन‘

639

bhagirath

भगीरथ अवस्थी

बैतडीको सिद्धपुर गाविस सदरमुकामबाट झन्डै १७ कोष टाढा रहेको छ । जिल्लाको पूर्वी क्षेत्रमा रहेको यो गाविसको वडा ५ बन्तड भन्ने ठाउँमा ४२ वर्षीय मदनराज भट्टको पनि बसाइँ छ । खाने मुखलाई जुंँगाले छेक्दैन भने झैं अहिले उनी तरकारी खेतीबाटै सात जनाको परिवार पालिरहेका छन् । पहिला पहिला अन्य काममै व्यस्त रहने भट्टले गत एक वर्षदेखि व्यवसायिक तरकारी खेती सुरु गरेका हुन् । आफूसँग भएको १६ रोपनी जग्गा मध्ये अहिले १३ रोपनीमा उनले तरकारी खेती गर्दै आएका छन् ।

अाफूले सुरु गरेको तरकारी खेती देखाउँदै मदनराज भट्ट ।
अाफूले सुरु गरेको तरकारी खेती देखाउँदै मदनराज भट्ट ।

महिला तथा बालबालिका कार्यालय पाटन बैतडी र युएस एडको सहयोगमा सञ्चालित ज्ञानमा आधारित एकीकृत दिगो कृषि तथा पोषण परियोजना (किसान) बैतडीले दुईओटा प्लास्टिक घर निर्माणका लागि सहयोग गरेको थियो गत वर्ष । ती दुईओटा प्लास्टिक घरमा टमाटर खेती सुरु गरेका भट्ट दम्पतीले दोस्रो वर्ष भने १० ओटा प्लास्टिक घरभित्र टमाटर खेती गरिरहेका छन् । तरकारी खेतीबाटै अहिले एक सिजनमा डेढ लाख जतिको कमाइ गरेको उनले बताए । प्लास्टिक हाउसको सहयोगबाट आफू तरकारी खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ । सीपका हिसाबले खानेपानीको टेक्निसियन पनि हुन् मदनराज भट्ट । उनलाई खानेपानी कार्यालय डडेल्धुरामा करारमा जागिरको अवसर पनि मिलेको हो तर उनले त्यतातर्फ ध्यानै दिएनन् । उनले भने म तरकारी खेतीमै रमाइरहेको छु । तरकारी खेतीबाटै राम्रो कमाइ गर्न सकिने उनले बताए । अहिले भट्टको तरकारी बारीमा लटरम्म गोलभेडा फलिरहेका छन् भने प्याजको बेर्ना पनि प्रशस्त रहेको छ । बिहानै ५ बजे उठेर आफ्नो नित्यकर्म पछि उनी तरकारी खेतीमै व्यस्त देखिन्छन् । दिनभर गोडमेलमा हुन्छु उनले भने । उनका श्रीमति कलावती भट्टले बजार समाहाल्छिन् । बारीमा फलेको तरकारी बजारसम्म पुर्याउने जिम्मा उनको छ भने बचेको समय उनी पनि तरकारी खेतीमै बिताउने गर्छिन् ।

मदनराजलाई काममा सघाउँदै उनी धर्मपत्नी र छोरी ।
मदनराजलाई काममा सघाउँदै उनी धर्मपत्नी र छोरी ।

अहिले मदनराज भट्टको खेत सेताम्य छ किनभने उनले आफ्नो खेतमा १० ओटा प्लास्टिक हाउसमा गोलभेडा खेती गरिरहेका छन् । टाढाबाट क्याम्प जस्तो देखिने जब नजिक पुगिन्छ प्लास्टिक हाउसभित्र लटरम्म गोलभेडा फलेको देखिन्छ । तरकारी खेतीबाटै घरपरिवार चलाउन निकै सजिलो भएको छ भने ताजा तरकारी पनि खान पाइएको मदनराज भट्टको भुक्तभोगी अनुभव छ । गाउँमै भएको सहकारी संस्थाबाट उनले ऋण निकालेर आफ्नो पेशालाई व्यवसायिक बनाउन लागि परेका छन् । अहिले दुवै श्रीमान र श्रीमती दिनभर तरकारी खेतीमा लागिरहेको उनी बताउँछन् ।
रोजगारीका लागि विदेश जान कतिपय युवाले मरिहत्ते गरीरहेका बेला सिद्धपुरका यी मेहनती किसान भने आफ्नै माटोमा पसिना बगाउन आग्रह गर्छन् । मेहनत गरियो भने यही माटोमा सुन फलाउन सक्ने उनको आत्मविश्वास छ । रोजगारीका लागि विदेश जान नहुने उनको तर्क छ ।
मदनराज भट्ट जस्ता मेहनेती किसान कमै भेटिने जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए । अनुगमनको सिलसिलामा सिद्धपुरको बन्तड पुग्दा आफू निकै हर्षित भएको उनले सुनाए । ग्रामीण क्षेत्रका किसानले पनि यस्तो मिहनेत गरेर व्यवसायिकतामा लागेको देखेर आफू धेरै खुसी भएको र सो ठाउँमा कृषि कार्यालयले प्रदान गर्न सक्ने सबै सहयोग प्रदान गर्ने अधिकृत तिवारीले बताए ।

मदनराज भट्टको खेतमा फलेको गोलभेडा ।
मदनराज भट्टको खेतमा फलेको गोलभेडा ।
Womui
Womui