गौरब स्मृतिः ‘असल कर्मले मानिसलाई अमर बनाउँछ,‘मन्त्री हमाल’

81

नेपालगन्ज– ‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार, झुल्किन्छ है छाँया बस्तु अनुसार, काँढाको आँखामा काँढै संसार’ निकै भावनात्मक एवम् चचिर्त गीतको उदाहरण दिँदै लुम्बिनी प्रदेशका वन भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले संसारलाई बुझ्ने र महसुस गर्ने मानिसको हेराइ र बुझाइमा फरक पर्ने बताए । दुर्गालाल श्रेष्ठको शब्द रचनालाई न्ह्यू बज्राचार्यको संगीतमा आनी छोइङ डोल्माले गाएको यो गीत शब्दमा नभई भावना र अर्थमा बुझिन्छ । गीतको अर्थमा राम्रो आँखा र मनले हेर्ने हो भने सबै राम्रो देखिन्छ । कुनै वस्तु, मानिस, चिज वा प्रकृतिलाई राम्रो नराम्रो छुट्टयाउने मन र आँखाले भएझै कुनै पनि कुरालाई मानिसले दुइटा पाटोले हेर्ने÷बुझ्ने गरेको मन्त्री हमालले बताए ।

मानिसको जीवनमा समस्या स्वयम् मानिसबाटै जन्मने अनि समाधान पनि मानिसबाट नै हुन्छ । फरक यति मात्र हो कुनै पनि चिजलाई हामीले कुन तरिकाले हेर्छौ वा कुन तरिकाले सुन्छौं त्यसले नै फरक पार्छ । मानिसले मानिसका लागि मात्र नभई पशुचौपायासमेतको समस्यालाई आफ्नै समस्या सम्झेर अघि बढ्ने उद्देश्यसाथ नेपालगन्जमा स्थापना भएको बीयोर सेल्फका परिकल्पनाकार गौरब शाहको स्मृति दिवसका अवसरमा मन्त्री हमालले मनको कुरा यसरी व्यक्त गरेका हुन् ।

यति मात्र नभई मानिसले सोच्दा वा कर्म गर्दा मन र बुद्धिलाई प्रयोग गर्ने भएकाले बुद्धिले गरिने कार्यमा जोड र घटाउको हिसाब किताब हुन्छ भने मनले सोचेर गरिने कार्य निस्वार्थ रुपमा हुने मन्त्री हमालले बताए । मानिस असल कर्मले अमर रहने बताउँदै मन्त्री हमालले बीयोर सेल्फका परिकल्पनाकार गौरब शाहले बीयोर सेल्फ संस्थाको परिकल्पना गर्नु नै असल कर्म भएको बताए । जुन सोचका साथ यो संस्थालाई गौरबले जन्माए त्यसरी नै यसमा संलग्न सबैले उनको सोचलाई आत्मसात गर्नु पर्नेमा उनले जोड दिए ।

गौरब स्मृति तथा बीयोर सेल्फ फाउण्डेसनको आयोजनामा भएको ‘मेरो देश नेपाल’को लाइफ कन्सर्टका अवसरमा विशिष्ट अतिथि रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जुन महान सोचका साथ गौरबले यस संस्थालाई जन्माए त्यही सोचका साथ अगामी दिनमा संस्थालाई अघि बढाउन सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । मेयर विष्टले निस्वार्थ रुपले गरिने सामाजिक एवम् परोपकारी कार्यमा उपमहानगरपालिकाको सदैब साथ र सहयोग रहने बताउँदै असल सोच र कर्ममा धेरै युवालाई जोड्न सफल गौरबप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

ब्रिनोज कान तथा स्याहार केन्द्रका सिइओ पुरन चौधरीले बीयोर सेल्फ नाम आफैंमा काफी रहेको बताए । उनले जसले देशको हितका लागि सोच्दछ र जो देश निर्माणका पिल्लर हुन् त्यस्ता व्यक्तिलाई एउटै मालामा जोड्ने काम बीयोर सेल्फले गरेको बताए । विभिन्न सामाजिक एवम् परोपकारी कार्य गरिरहेको बीयोर सेल्फ सबैको मार्गदर्शक बन्न संस्थाको उद्देश्यले निरन्तारता पाओस् भन्दै शुभकामना व्यक्त गरे ।

त्यस्तै नेपाल टेड्र युनियन कांग्रेस बाँकेका जिल्ला सचिव तोजेन्द्र बिकले गौरब हामी माझ नरहे पनि उनले समाज परिवर्तनका लागि दिएको योगदान स्रहानीय रहेको बताउँदै यसलाई सबैले अनुशरण गर्न सके कोही पनि समस्यामा नपर्ने बताए ।

को हुन् गौरब ?
आफू आफू भएर बाँच्न सके अरुलाई पनि खुसी दिन सकिन्छ भन्ने महान सोचका साथ बीयोर सेल्फको जन्म भएको थियो । संस्थाका परिकल्पनाकार गौरब शाहले नेपालगन्जका युवालाई एकत्रित गर्दै संस्थाको सुरुवात गरेका थिए । घरबाट पाउने पकेट खर्च बचाउँदै ‘बी योर सेल्फ’ मार्फत् आवश्यकतामा परेका र गरिबी दुःखीको सेवा गर्दै आएका शाहले सामान्य पकेट खर्च बचाएर पनि समाज सेवा गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका थिए ।

‘सेभ मनी सेभ वन लाइफ‘ अर्थात् पैसा बचाएर अरुलाई जीवन दिऔं भन्ने उद्देश्य लिएर ‘बी योर सेल्फ’को सुरुवात गरेका शाहले घरबाट पाउँदै आएको पकेट खर्च बचाएर आवश्यकतामा परेका धेरै व्यक्तिहरुको सहयोग गर्दै आएका थिए । शाहले उद्देश्यविहीन छरिएर रहेका युवालाई समाजसेवामा अग्रसर गराउँदै थोरै थोरै रकम जम्मा गरेर निल सागर वृद्धाश्रममा रहेका वृद्धवृद्धाका लागि खानाको व्यवस्था, बागेश्वरी मन्दिर र बाटोमा भौँतारिएर बसेका व्यक्तिलाई खाना खुवाउने काम गरेका थिए । त्यस्तै सडकमा भौँतारिएर हिँड्ने कुकुरलगायतका पशु चौपायालाई दूध र खाना, विपन्न वर्गका परिवारलाई खाद्यान्न सहयोगलगायत लकडाउनका अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको थिए । त्यस्तै महिनावारीका समयमा विद्यालय जानबाट विपन्न वर्गका किशोरीहरु वञ्चित नहुन भन्ने उद्देश्यसाथ स्यानेटरी प्याडलगायत शैक्षिक सामाग्रीको जोहो पकेट खर्च बचाएर नै गरेका थिए ।

आठजना युवालाई साथमा लिएर शाहले पकेट खर्चबाट जम्मा गरेको पैसाले सामाजिक कार्यका लागि एक दिन खाजा हामीसँग जस्ता अभियान चलाउँदै खाजा बिक्रीबापत आएको रकमले कुपोषण बालबालिकालाई समेत सहयोग गर्ने गरेका थिए । सानोतिनो आवश्यकताबाट ग्रसित व्यक्तिलाई सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले साथ शाहले बीयोर सेल्फ जन्माएका थिए । संस्थालाई विधिवत् रुपमा दर्ता गरेर अघि बढ्ने सोच बनाएका गौरबको चाहना भने पूरा हुन सकेन ।

तर उनको सोचलाई पूरा गर्न उनका बुबा प्रदीप शाहले बीयोर सेल्फलाई मूर्त रुपमा दिएका छन् । छोराले असल सोचका साथ परिकल्पना गरेको संस्थालाई चलायमान गराउन ७ लाख रुपैयाँको अक्षय कोष खडा गरेका छन् भने हालै विधिवत् रुपमा संस्था पनि दर्ता भएको छ ।

संस्थाको संस्थाप अध्यक्षमा शेखर जोशी, उपाध्यक्ष मधु शाह, सचिव सुदिप सिंहचौधरी, सहसचिव डिनिता शाही, कोषाध्यक्ष विजय कोरी सदस्यमा क्रमश शिवम शाह, मुन्सी हज्जाम, अनिता बस्नेत र रोजी श्रेष्ठ रहेका छन् ।

 

Womui
Womui