प्राकृतिक श्रोत उपयोगबापत शुल्क निर्धारण

58

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाँउपालिकाले ढुंगा, गीट्टी बालुवा लगायतको प्राकृतिक श्रोतको उपयोगवापत शुल्क निर्धारण गरेको छ । गाँउपालिका क्षेत्रमा उत्पादन हुने वन पैदावर, तथा नदिजन्य पदार्थमा शुल्क लगाइने गाँउपालिको आर्थिक ऐन २०७८ मा उल्लेख छ । सो अनुसार यसै सातादेखि ढुंगा, गीट्टी, बालुवाको उपयोग गरेवापत प्रति क्युविक फिटको ९।३५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यसअघि ढुंगा, गिट्टी, बालुवाको प्रति क्युविक फिटको ८।५ रुपैयाँ शुल्क तोकिएको थियो । माटो र दहत्तर बहत्तरको पुरानै मूल्य कायम गरिएको छ । माटोको ३ रुपैया प्रति क्युविक फिट र दहत्तर बहत्तरको प्रतिकिलो २ रुपैया मुल्य कायम गरिएको हो ।

गाँउपालिकाले अवैध उत्खनन्, चोरी निकासी गर्नेहरुको हकमा जरिवाना पनि निर्धारण गरेको छ । अवैध उत्खनन्, चोरी निकासीमा संलग्न मालवहाक सवारी साधनहरु जस्तै एक्साभेटर, लोडर टिप्पर, ट्याक्टरलाई पहिलो पटक २५ हजार जरिवाना गरिनेछ । दोश्रो पटक पनि भेटिएमा ५० हजार र पटक पटक भेटिएको खण्डमा १ लाख रुपैँया जरिवाना तोकिएको छ ।

अवैध उत्खनन्, चोरी निकासीमा संलग्न खाली ट्याक्टर टिप्पर भेटिएको खण्डमा पहिलो पटक १० हजार, दोश्रो पटक २० हजार र पटक पटक भेटिएमा ५० हजार जरिवाना गरिने छ ।

प्राकृतिक सम्पदाको नाश हुने जोकोहिलाई समेत कारवाहीको दायरामा ल्याउने गाँउपालिकाले जनाएको छ । प्राकृतिक सम्पदा नष्ट हुने गरी छाडा भैसी छोडेमा १ सय रुपैया र गाँइ बाख्रा छाडा छोडेको पाइएमा ५० रुपैया जरिवाना गरिने छ ।
आर्थिक ऐन २०७८ अनुसार गाँउपालिका क्षेत्र भित्र कुनै पनि व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिवुटि, बनकस, कवाडी माल र प्रचलित कानुनले निषेधित गरेको वन्यजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, छाला, सिङ, प्वाख जस्ता वस्तुको व्यवसायीक कारोवार गरेवापत पनि अनुसुचि ४ बमोजिम कर लगाइने र असुल उपर गरिने छ ।

Womui
Womui