खजुराका ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा शिविर

86

खजुरा– जनतासँग स्थानीय सरकार अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाका ज्येष्ठ नागरिकका लागि बिहीबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । वडा नं. ८ बाट शुरु भएको आँखा शिविरको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शुभारम्भ गर्दै पालिकाले दिएको निशुल्क आँखा जाँच र औषधि सेवा लिन जेष्ठ नागरिकलाई आग्रह गरे ।

८ वडा भएको खजुराका सबै वडामा उक्त शिविर सञ्चालन हुनेछ । विगतका वर्षहरुमा पनि आँखा शिविरका साथै स्वास्थ्य शिविर संचालन गरिएको थियोे । अध्यक्ष कक्षपतिले जनतालाई सर्बसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बेला बेलामा यस्ता शिविर गरिएको बताए । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य भक्तबहादुर केसी, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेललगायतको सहभागिता रहेकोे थियोे ।

भिजन आँखा अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा शिविर संचालन भैरहेको छ । वडा नं. ८ मा १६५ जनाको आँखा जाँच भएकोमा २९ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार शल्यक्रिया पनि निःशुल्क गरिनेछ ।

Womui
Womui