प्रदेश विश्वविद्यालयका लागि निरन्तर संघर्ष गर्छौंः अध्यक्ष कक्षपति

92

नेपालगन्ज– पश्चिम लुम्बिनीको गौरव प्रदेश विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गर्न खजुरा गाउँपालिकाले संघर्ष गर्ने भएको छ । खजुरा गाउँपालिकाले बिहीबार खजुरामा पत्रकार सम्मेलन गरेर संघर्षका बारेमा जानकारी गराएको होे ।

कार्यक्रममा पालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रदेश विश्वविद्यालयका लागि खजुराले सबै प्रक्रिया पूरा गर्दापनि विद्यालयलाई अन्यत्र सारिन लागेको बताए । कक्षपति प्रादेशिक विश्वविद्यालयलाई योजना आयोगले विभिन्न बाहनाबाजी गर्दै अन्यत्र सार्ने प्रयास गर्नु गैर कानुनी कार्य भएको बताए । कक्षपतिले खजुरामा विश्वविद्यालय बनाउनका लागि लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा पारित गरी रकमसमेत विनियोजन गरेको बताए । उनका अनुसार विश्वविद्यालयका लागि खजुराले एक सय विघा जग्गा पनि उपलब्ध गराइसकेको थियो । कक्षपतिले भने, ‘हामीले विश्वविद्यालयका लागि सय विघा जग्गा उपलब्ध गराउने गाउँपालिकाको प्रतिवद्धतापत्र जिल्ला समन्वय समितिमा पठाएका थियौं । समन्वय समितिले उक्त प्रस्ताव अनुमोदन गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा पनि पठाएको थियो र प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रममा पारित गरी आव ०७६/०७७ मा तीन करोठ र आव ०७७/७८ सात करोड र चालू आर्थिक वर्षमा १० करोड रकमसमेत विनियोजन गरेको थियो ।’

अध्यक्ष कक्षतिले राजनीतिक प्रभावका कारण खजुराबाट विश्वविद्यालयलाई अन्यत्र सारिन लागेको बताए । खजुराले विश्वविद्यालयका लागि खजुरा गाउँपालिका–८, रनियापुरमा प्राविधिकद्वारा नापी गराई जग्गासमेत छुट्याएको थियो । सोही आधारमा २०७८ भाद्र २ गते गाउँपालिकाको निर्णयले साविक रनियापुर गाविस वडा नम्बर ४, १ स्थित सिट नम्बर ०३५÷१००४, ०३५÷१०४४ कित्ता नम्बर १, ४, ५ को एक सय विघा जग्गा अधिग्रहण गरिएको निर्णयसहित लुम्बिनी प्रादेशित विश्वविद्यालय स्थापनार्थ आवश्यक पर्ने सम्पूर्ण कागजपत्रहरु सामाजिक डिभिजन कार्यालयका प्रमुख रामकरण पालमार्फत तत्कालीन सचिव महादेव पन्थलाई उपलब्ध गराएको थियो । तर हाल भने गाउँपालिकाले उपलब्ध गराएको सम्पूर्ण कागजात नै हराएको खबर आएको अध्यक्ष कक्षपतिले बताए ।

कक्षपति खजुरामा स्थापना हुन लागेको विश्वविद्यालयलाई अन्यन्त्र सार्न खोजिएको बताउँछन् । उनले सम्पूर्ण खजुरावासी, बाँकेवासी एकजुट भएर विश्वविद्यालयलाई खजुराबाट अन्यत्र सार्न रोक्नुपर्ने बताउँछन् । ‘यो हाम्रो लागि गौरवको विषय हो । यदि हामीले खजुरामा विश्वविद्यालय बनाउन सकेनौं भने यो हाम्रो लागि सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ,’ कक्षपतिले भने । पालिकाले अध्यक्ष कक्षपतिको अध्यक्षतामा सवैदलिय बैठक बसी संघर्षका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । जसमा पहिलो काम पत्रकार सम्मेलन गर्ने रहेको छ । जसअनुसार पालिकाले प्रेस विज्ञप्ति निकाले पत्रकार सम्मेलन गरेको हो । त्यसैगरी पालिकाको अध्यक्षतामा खजुरास्तरीय सम्पूर्ण राजनैतिक दल वडा अध्यक्ष, कार्यापालिका सदस्यसहित प्रदेश विश्वविद्यालय संघर्ष समिति गठन गर्ने, सर्वदलिय उपस्थितिमा ज्ञापन–पत्र मन्त्रालयमा पेश गर्ने, बाँके बर्दियाका राजनैतिक दल र प्रदेश माननियहरुको उपस्थिति गराई यस विषयमा धारणा माग गर्ने, जिल्लास्तरीय संघर्ष समिति गठनका लागि सर्वदलिय सर्वपक्षिय स्थानीय प्रमुख प्रतिनिधिसहितको बैठक आह्वान गर्ने र विश्वविद्यालय स्थापनाका लागि गडित संघर्ष समितिलाई विभिन्न अल्टिमेटका कार्यक्रम गर्न जिम्मा दिने रहेको छ ।

Womui
Womui