राप्तीसोनारी खेलाडीका नयाँ प्रतिभाहरुको उर्वर भूमि होः अध्यक्ष थारु

144

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तीसानारी गाउँपालिका खेलकुदसहित गाउँपालिकाको सर्वांगीण विकासमा कटिबद्ध रहेको बताएका छन् । बुधबार राप्तीसोनारी गाउँपालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै उनले राप्तीसोनारी खेलाडीका नयाँ प्रतिभाहरुको उर्वर भूमि रहेको बताए ।

रनिङ शिल्ड प्रतियोगिताले नवप्रतिभाहरुलाई पहिचान गर्ने मौका दिने बताउँदै उनले त्यसैको लागि प्रतिकूल समयका वावजुद प्रतियोगिता संचालन गर्ने निधो गरिएको बताए । माघमै हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण ढिलो सुरु भएपनि आयोजक विद्यालयको अग्रसरता र चुस्त व्यवस्थापनले प्रतियोगिताको सफल सुरुवात भएको बताए । उनले लक्ष्मी मावि बाँके जिल्ला सदरमुकामबाहिर रनिङ शिल्ड आयोजना गर्ने पहिलो विद्यालय भएको र प्रदेश सरकारमा नमुना विद्यालयकारुपमा प्रस्तावित विद्यालय भएकोले विद्यालयको सकारात्मक कुराहरु अरु विद्यालयका लागि पनि सिकाई हुने अपेक्षासहित प्रतियोगिता सन्चालनका लागि लक्ष्मी मावि रोजिएको बताए ।

अध्यक्ष थारुले राष्ट्र तथा गाउँपालिकालाई चिनाउनका खेलाडीहरुको भूमिका महत्वपूर्ण हुने बताए । अध्यक्ष थारुले खेलाडीहरुलाई प्रोत्साहन गर्ने काममा गाउँपालिका सधैं तत्पर रहेको बताए ।

यसैगरी उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँपालिकाले सर्वांगीण विकासमा जोड दिएको उल्लेख गर्दै खेलकुदलाई पनि विशेष प्राथमिकता दिइएको बताइन् । उनले पालिकास्तरीय प्रतियोगिताबाट छानिएका प्रतिभाहरुले राष्ट्रिय स्तरमा हुँदै अन्तराष्ट्रियस्तरमा पनि पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरिन् ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री प्रेमबहादुर खड्काले स्थानीय तहले विकासका मुद्धामा गर्नुपर्ने सबै किसिमका कामहरुमा राप्तीसोनारी गाउँपालिकाले ध्यान दिएको भन्दै प्रशंसा गरे । प्रतियोगिताको व्यवस्थापक एवं सन्चालक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तप्त पौडेलले लक्ष्मी मावि २००७ सालमा स्थापित बाँकेको पुरानो विद्यालय भएको स्मरण गर्दै विद्यालयले दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका खेलेको बताए । हाल विद्यालयमा आइएस्सी एजी सरहको प्राविधिक पढाई पनि भइरहेकोले विद्यालयको विकासका लागि स्थानीय सरकारको थप प्राथमिकता दिनुपर्ने आग्रह गरे ।

उद्घाटन कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, विभिन्न वडाका वडाध्यक्ष एवं जनप्रतिनिधिहरु, गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक एवं शिक्षक प्रतिनिधिहरु उपस्थित थिए ।

Womui
Womui