ओलम्पिक मेडलिष्टलाई २ करोड रुपैयाँ

53

“खेलाडी पुरस्कार कार्यविधि बनाउँदै खेलकुद मन्त्रालय”

नेपालगन्ज– संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्वारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीहरुको पुरस्कार सुनिश्चितताका लागि मन्त्रालयले पुरस्कार सम्बन्धी कार्यविधि तयार गर्न लागेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अथकले ओलम्पिकमा स्वर्ण पदक ल्याउने नेपाली खेलाडीहरुलाई २ करोड नगद राशीले सम्मानित गर्ने उद्घोष समेत गेका छन् । “मन्त्रालयले ओलम्पिक मेडलिष्ट खेलाडीलाई २ करोड नगद राशीले पुरस्कृत गर्ने गरी कार्यविधि बनाइरहेको छ”, मन्त्री अथकले भने, “उक्त राशी बढाउन थप प्रयास गर्नेछु ।”
नेपाली खेलाडीहरुले पछिल्लो समय विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आए पनि ओलम्पिकमा भने कुनै प्रतिफल ल्याउन नसकेको प्रति इङ्गित गर्दै मन्त्री अथकले भने, “तपाईहरुले खेलका विभिन्न पहाड चढ्नुभएको छ, अब खेल क्षेत्रको सगरमाथा (ओलम्पिक) चढ्ने उद्देश्य राख्नुहोस ।”

सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको अनुभूति भएको बताउँदै मन्त्री अथकले उक्त दृष्टिकोण बदल्नसमेत खेलाडी तथा खेल संघहरु लाग्नु पर्ने बताए ।

मंगलबार ललितपुरको गोदावरी नगपालिकास्थित बज्र बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न २७ विधागत खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका छन् । जसमध्ये राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

Womui
Womui