कांग्रेस बाँकेः हमाल संस्थापनको आधिकारिक उम्मेदवार

190

नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको निर्वाचनमा संस्थापनको तर्फबाट सुरेन्द्र हमाल आधिकारिक सभापतिको उम्मेदवार बनेका छन । हमाल र संविधान सभा सदस्य बादशाह कुर्मी बिच संस्थापनको आधिकारिक उम्मेदवार बन्ने प्रतिस्पर्धा चलिरहेका थियो । तर चुनाव नजिकिदै गर्दा लुम्बिनी प्रदेशका बन मन्त्री एवम ओलम्पिय सुरेन्द्र हमाललाई संस्थापन पक्षले आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ ।

हमाल संस्थापनको आधिकारिक उम्मेदवार भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले बताए । उनले भने,‘मलाई पार्टीको प्रवक्ताले फोन मार्फत हमाल संस्थापनको आधिकारिक उम्मेदवार भएको कुरा जानकारी गराउनु भएको हो । त्यसलाई आम बाँकेका कांग्रेस कार्यकर्तालाई जानकारी गराउन निर्देशन भएको छ ।’

संविधान सभा सदस्य एवम कांग्रेस केन्द्रीय सदस्य वाल्मिकीलाई सोमबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोन गरेर हमाल आधिकारिक उम्मेदवार भएको जानकारी गराएका थिए ।

बाँके कांग्रेसका नेता तथा कार्यकता नयाँ नेतृत्व चयनका लागि चुनावमा होमिसकेका छन । नयाँ नेतृत्वमा आउनका लागि उम्मेदवारी दिएका नेताहरु आफना एजेन्डासहित क्षेत्रीय प्रतिनिधिलाई प्रभावित गर्ने प्रयास गरिरहेका छन ।
केन्द्रीय राजनितिको छाया पछ्याउँदै बाँकेमा पनि स्पष्ट रुपमा दुइ समुह बनाएर चुनावमा प्रतिस्पर्धा हुने पक्का भएको छ ।

कोइराला पक्षले करिब एक महिना अघि नै आफनो सभापतिको रुपमा नारायण प्रसाद गौडेललाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको थियो ।

त्यसपछि क्रमस कोइराला पक्षले कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुको नाम छनोट गरेको थियो । तर संस्थापन पक्षले भने चुनावको चार दिन अघि सम्म पनि सभापतिको आधिकारिक उम्मेदवार तोक्न सकेको थिएन ।
फागुन १९ गते कांग्रेस बाँकेको निर्वाचन हुँदैछ ।

जिल्ला निर्वाचनमा १ हजार ४ सय ९३ प्रतिनिधिले निर्वाचनमा मत हाल्नेछन । वडा, पालिका, प्रदेश र क्षेत्रको निर्वाचनको नतिजा अनुसार बाँकेमा संस्थापन(शेरबहादुर देउवा) टिमले धेरै स्थानमा जितेको छ । तर जिल्ला निर्वाचनमा भने संस्थापन पक्षलाई आधिकारिक उम्मेदवार घोषणा गर्न हम्मे–हम्मे भयो ।

संस्थापन भित्रैकै शिर्ष नेताको स्वार्थ नमिल्दा बाँकेमा संस्थापनले समयमा उम्मेदवार चयन गर्न सकेको थिएन ।
सुरुआतमा संस्थापनबाट सुरेन्द्र हमाल, बादशाह कुर्मी, निरञ्जन सिंह सिजापति, सुनिलनर सिंह राणा, लक्ष्मी नारायण शाहले बाँके सभापतिमा दाबी गर्दै आएका थिए ।

पछि सुरेन्द्र, वादशाह र सुनिलनरसिंहले सभापतिमा उम्मेदवारी दिए । उम्मेदवारी दिएको अर्को दिन सुनिलनरसिंहले हमाललाई समर्थन गर्ने बताउँदैं उम्मेदवारी फिर्ता लिएका थिए । तर वादशाह र सुरेन्द्र बिच संस्थापनको को आधिकारिक हो भन्ने लडाई सोमबार दिउँसो सम्म चल्यो । अन्तत सुरेन्द्र संस्थापनको आधिकारिक बन्न सफल भए ।

बाँकेमा संस्थापनको खम्बाका रुपमा लिइन्छ हमाल परिवारलाई । शेरबहादुर देउवा निकट छ हमाल परिवार । तर पछिल्लो समय बाँके कांग्रेस राजनितिमा कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठोरले हस्तक्षेप गर्दै आएका छन ।
उनले बाँके कांग्रेसको सभापतिको रुपमा बादशाहलाई अगाडी सारेका थिए । संस्थापनको नेतृत्व चयन गर्ने विषयमा हमाल राठौरबिच आन्तरिक प्रतिस्पर्धा नै भयो ।

संस्थापनभित्र राठोर हाबी हुँदै गएका नेता हुन् । तर बाँकेको सभापति चयनमा भने राठौरको निर्णय उल्टिएको छ । सोमबार दिउँसो सम्म बादशाह संस्थापनका आधिकारिक उम्मेदवारका रुपमा प्रचार गरिएका थिए । संस्थापनको केन्द्रले भने हमाल रोजेको छ ।

Womui
Womui