कता हरायो नरभक्षी बाघ ?

99

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकाका विभिन्न जंगलमा रहेका बाघले मान्छे खान थालेपछि खोज्न हात्ती प्रयोग गरिएको छ । हात्तीको सहायताले बाघको खोजी गरिए पनि अहिलेसम्म फेला नपरेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनले गाउँपालिकामा पर्ने विभिन्न जंगलका बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र खाने गर्न थालेपछि बाघ खोज्न हात्ती प्रयोग गरिएको बताए । ‘बाघले आक्रमण गरेको ठाउँमा भैँसीको पाडा राखिएको छ । बाघ बस्ने सम्भावित ठाउँको पहिचान गरि हात्ती परिचालन गरेका छाँै,’ उनले भने । उनले हात्तीलाई हरेक दिन तीन–चार पटक जंगल पठाउने गरिएको बताए । बाघलाई एक जना माहुतले जंगलमा लिएर जाने गरेका छन् ।

हात्तीलाई बाघले आक्रमण गर्न नसक्ने भएकोले खोजीको लागि प्रयोग गरिएको उनको भनाइ छ । बाघ खोज्ने क्रममा बाघ हिँड्ने बाटो फेला परेको बन हेरालु अयोध्या थारुले बताए । उनले बाघको ताला पाइला भेटिए पनि बाघ अहिलेसम्म फेला नपरेको बताए । ‘पाइला देखेपछि बाघ फेला पर्छ होला जस्तो लाग्छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ उनले भने । यसअघि पनि बाघ खोज्न राप्तीसोनारी गाउँपालिका ६ स्थित राप्तीपीडित तथा गुलरी सामुदायिक बनमा बाघको आहारा पाडा र हात्ती प्रयोग गरिएको थियो ।

त्यतिबेला पनि बाघले पाडा नखाएको राप्तीपीडित तथा गुलरी सामुदायिक बनका हेरालु अयोध्या थारुले बताए । ‘पाडा राखेको ९ दिन भयो, तर अहिलेसम्म बाघले पाडा खाएन,’ उनले भने । मान्छे खान पल्केकोले बाघले पाडा नखाएको बताए । उनले बाघलाई आफूले प्रत्यक्ष देखेको बताए । बाघले आक्रमण गरि मृत्यू भएका राप्तीसोनारी गाउँपालिका ६ का ६० वर्षीय धनबहादुर चलाउनेको शव लिन गएको बेला बाघ शव बोकेकाहरुको पछि लागेर आएको बताए । ‘हामी शव ल्याउँदै थियौँ, हाम्रो पछि–पछि बाघ आउँथ्यो । हामी ढुंगा फाल्थ्यौँ, हो–हल्ला मच्चाउँथ्यौँ, तर बाघ फेरि हाम्रो नजिक आउन खोज्थ्यो,’ उनले भने ।

Womui
Womui