ओशोनिकले धम्बोझीलाई पन्छ्याउँदै पायो दोस्रो सफलता

97

नेपालगन्ज– ओशोनिक क्लबले बाँके जिल्ला लिग फुटबलमा सोमबार जित हासिल गरेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा ओशोनिकले धम्बोझी क्लबलाई १–० ले हरायो ।

ओशोनिकका लागि किरण रोका मगरले २८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा धम्बोझीका दिपेन्द्र शाही ठकुरी घाइते भएर एम्बुलेन्समा राखेर अस्पताल लग्नु परेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ओशोनिकका तेज मगर र गोविन्द खड्काले तथा धम्बोझीका हेमन्त ओलीले पँहेलो कार्ड पाएका थिए ।

यसैगरी सोमबार नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा कारकाँदो र रेसिङ सहाराबिचको खेल गोलरहित बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले १–१ अंक बाडे ।

त्यस्तै लगातार दुइ खेल जितेको ओशोनिकले ६ अंक जोडेको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।

समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन् ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

Womui
Womui