डुडुवामा ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल

148


डुडुवा– डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्राङ्गणमा आठ कोठे अस्पताल भवनको आज बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भवनको शिलान्यास गर्दै ज्येष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी उनीहरुको निशुल्क उपचार तथा औषधी वितरण गरिने बताए । उनले डुडुवामै विशेषज्ञ सुविधा र प्रयोगशालामार्फत् स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाउँदै घरमै सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएको बताए । उनले अस्पताल संचालन भएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि बजार जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

रु. ७९ लाखको लागतमा निर्माण हुने अस्पतालमा ८—८ बेडको महिला र पुरुषका लागि छुट्टै वार्ड, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, फार्मेसी, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला र शौचालयसहितको अत्याधुनिक भवनको निर्माण हुने गाउँपालिकाका इन्जिनियर प्रकाश थापाले बताए ।तीन महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने गरि दिपक विल्डर्स प्रालिले कोहलपुर बाँकेले ठेक्का लिएको छ । बहुवर्षीय योजना अन्तर्गत आगामी वर्षहरुमा थप भौतिक पूर्वाधार निर्माण गरी सेवास्तर वृद्धि गरी लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो स्थानमा रहेको छ भने गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान अन्तर्गत तीन स्थानमा निशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठवटा स्थानमा स्वास्थ्य केन्द्रको संचालन, दुईवटा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।

Womui
Womui