खर्चे ताल

357

राप्तीसोनारी गाउँपालिका–१ को सिक्टा र गाभरदेखि उत्तर चुरेको वनमा खर्चे ताल रहेको छ । पूर्वपश्चिम राजमार्गबाट ७.९० किलोमिटर दूरी यात्रामा यहाँ पुगिन्छ । झण्डै ७ किलोमिटर १५ मिनेट मोटरसाइकल वा गाडीमा राप्ती नदीको तीरसम्म जान सकिन्छ । त्यहाँबाट काठको डुंगामा राप्ती नदी तरेर पैदल यात्रापछि खर्चे ताल पुगिन्छ । राप्तीसोनारी वडा नम्बर १ स्थित कुमाल समुदायको बस्ती रहेको खर्चेगाउँ नजिकै दुईवटा खर्चे ताल रहेको छ । जसमा एक सानो र अर्को ठूलो ताल छ । ठूलो तालको लम्बाइ ६०० मिटर, चौडाइ ६५ मिटर र गहिराइ ११ फुट रहेको छ । सानो खर्चे तालको लम्बाइ १८७ मिटर, चौडाइ २१ मिटर र गहिराइ ९ फिट रहेको छ ।

करिब ३ घण्टाको पैदल यात्रापछि तालसम्म पुग्न सकिन्छ । ताल वरिपरि घुम्न र वारपार गर्न ४२ मिनेट लाग्छ । खर्चे तालमा माछा, गोही पाइन्छ । यस्तै ताल वरिपरि विभिन्न जंगली जनावर र चराचुरुङ्गीको बसोबास र आवतजावत हुने गर्छ । दिनभर चराचुरुङ्गी र जंगली जनावरको आवाज सुन्न पाइन्छ । खर्चे तालनजिकै राप्ती नदीमा माछा मार्ने, सुन चाल्ने र डुंगा चलाउने १२ घरधुरी कुमाल समुदायको बसोबास रहेको छ । तालको वरिपरि धनखन्दा डाँडा रहेको छ । यो तालमा १२ महिनाा पानी जम्ने गर्छ । तालको बीच भाग र चारैतिर विभिन्न जातका बोटबिरुवाहरू रहेका छन् । यो ताल पुर्खौदेखि अस्तित्वमा रहेको छ । यस तालमा बर्षातमा राप्ती नदी र स्थानीय खहरे खोलाहरू मिसिने गर्छन् । यहाँ २४ घण्टा हावा चल्ने हुँदा गर्मीमा शीतल हुने गर्छ । चिसो समयमा पनि यहाँ हुस्सु र कुहिलो लाग्दैन । जिल्लामै ठूलो र पुरानो खर्चे ताल संरक्षणको पर्खाइमा रहेको र पर्यटनका हिसाबले अगाडि आउन सक्ने क्षेत्र हो । खर्चे ताल यो वडामा पर्ने सबैभन्दा सुन्दर ताल हो । यस क्षेत्रलाई सिमसार क्षेत्रसँगै ताल संरक्षण गर्न सके पर्यटन आवागमनमा टेवा पुग्ने छ र आन्तरिक आयआर्जनमा वृद्धि हुनसक्छ ।

Womui
Womui