कुश्मेश्वर शिव मन्दिर

402

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी–१ कुसुमबजारको दक्षिणमा यो मन्दिर रहेको छ । पूर्वपश्चिम राजमार्ग निर्माणका क्रममा वि.सं.२०३५ सालमा शिलान्यास भई वि.सं.२०३७ सालमा यो मन्दिरको निर्माण भएको हो । राजमार्ग बन्दा सडक निर्माणको कार्यालय रहेको बेला इन्जिनियर विन्देश्वर यादवले कुश्मेश्वर मन्दिरको निर्माण गरेका हुन् । यहाँ सडक निर्माणका क्रममा स्थानीय र कर्मचारीले बेलको रूखमा पूजापाठ गर्ने गरेकोमा पछि मन्दिर निर्माण गरिएको हो ।

यहाँ मुख्य मन्दिरमा शिवालिङ्ग रहेको छ । यस्तै मन्दिर आसपासमा शिव, गणेश, कुमार, हनुमानका मूर्तिहरू छन् । मन्दिरको प्रवेशद्वार गेट अगाडि पुरानो बेलको रूख रहेको स्थानमा शिवलिङ्ग छ । बाँके जिल्लामा रहेका शिव मन्दिरहरूमा बागेश्वरीपछि शिवको शक्ति र आस्थाका रूपमा दोस्रो ठूलो मन्दिर कुश्मेश्वर शिव मन्दिर हो । शिव मन्दिरको पूर्वमा यज्ञशाला, नन्देश्वर, महादेव, नागको प्रतिमा, तुल्सी र बेलका रूखहरू छन् । मन्दिरको चारैतिर विभिन्न प्रजातिका फूलहरू छन् । पूर्वपश्चिम
राजमार्गदेखि ५० मिटर उत्तर, पूर्वमा मन्दिर छ । यसको पूर्व, उत्तरमा राप्ती नदी बग्ने गरेको छ । यस मन्दिरको पहिलो पुजारी भारतीय नागरिक स्वामी विद्यानन्द हुन् । त्यसपछि ईश्वरी चापागाई भए । विगत ९ वर्षदेखि नरबहादुर केसी यस मन्दिरका पुजारी छन् । यहाँ शिवरात्रिको दिनमा मेला लाग्ने गर्छ । तीजको बेला महिला दिदीबहिनीहरू पूजापाठ र नाचगान गर्छन् । यहाँ दैनिक नियमित पूजापाठ, व्रतबन्ध, विवाह गरिन्छ । एक बिगाह क्षेत्रफलमा फैलिएको मन्दिरमा धर्मशाला निर्माण गरिएको छ । धार्मिक आस्थाका केन्द्रका रूपमा यो कुसुम क्षेत्रको ठूलो मन्दिर हो ।

Womui
Womui