कोरोना लक्षित संयन्त्र बनाएर अघि बढेका छौंः प्रमुख शाही

485

कोरोना भाइरस महामारीको विश्वभर दोस्रो तथा तेस्रो लहर चलिरहेको छ । कोभिड १९ को थप नयाँ भेरियन्ट पत्ता लागेको सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जेठ ४ गते एक सूचना निकालेर नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको भन्दै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालन गर्न गराउन अपिल गरेको छ । पछिल्लो समय नेपालमा संक्रमण दर र मृत्युदर पनि उच्च छ । अस्पतालहरुले अक्सिजन तथा बेड अभावमा नयाँ बिरामी भर्ना गर्न मानिरहेका छैनन् । स्वास्थ्य मन्त्रालयले हाम्रो स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढ्यो, आफ्नो सुरक्षा आफै गर्नुस् भन्दै छ भने बाँकेमा वैशाख १३ गतेदेखि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका बावजुद संक्रमण नियन्त्रणमा नआएपछि हप्ता दिनको समय तोकेर चौथोपटक जेठ १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको छ । यस्तो अवस्थामा दोस्रो, तेस्रो …… चरणको कोरोना महामारीलाई रोक्न गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ ? लगायतका समसामयिक विषयमा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीसँग छिनछिन खबरका लागि गरिएको कुराकानीको सम्पादित अंश ।

दोस्रो चरणको कोरोना महामारीलाई रोक्न गाउँपालिकाले कस्तो भूमिका खेलेकोे छ ?

हामीले दोस्रो लहरको संक्रमण गाउँस्तरमा फैलन नदिन र गाउँपालिकावासीलाई बचाउन तीनवटा आइसोलेसन सेन्टर स्थापना गरेका छांै । आइसोलेसनका साथसाथै यहाँ एउटा अस्पताल र ९ वटा स्वास्थ्य चौकी रहेका छन् । जहाँ दक्ष स्वास्थ्यकर्मी परिचालन गरेका छौं । ज्वरो आउने, रुघाखोकी जस्ता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई वैशाख २७ गतेदेखि एन्टीजेन किटबाट परीक्षण गरिरहेका छौं । त्यस क्रममा संक्रमणका कारण गम्भीर भएकालाई आइसोलेनमा राख्ने र सामान्य लक्षण भएकालाई होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड अपनाएर बस्न आग्रह गरेका छांै । साथै होम आइसोलेसनमा बस्नु भएका संक्रमितको घरदैलोमै पुगेर जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले संक्रमितको मनोबल बढाउनुका साथै कोरोनाबाट जोगिने उपायबारे जनचेतनामूलक सन्देशहरु प्रवाह गरिरहनु भएको छ ।

यसरी जनचेनामूलक कार्यक्रम गर्दा कसरी स्थान छनोट गर्नु हुन्छ ?

कोरोना भाइरसबाट बच्नका लागि सरकारले लागू गरेको मापदण्ड भनौ वा निषेधाज्ञाको उल्लङ्घन जहाँ भइरहेको छ त्यो ठाउँ कोरोना संक्रमणको उच्च जोखिममा हुन्छ । त्यसैले चेतनास्तर कम भएको ठाउँलाई हामीले बढी फोकस गरेर काम गरिरहेका छौं । त्यस्तै जुन क्षेत्रमा साक्षरता दर कमजोर छ । जुन क्षेत्रमा जोखिम छ । जहाँ संक्रमितहरु धेरै छन् । त्यस्ता स्थानलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौं । त्यति मात्र नभएर सूक्ष्मस्तरमै पुगेर पनि जनचेतना फैलाउने काम गाउँपालिकाबाट भएको छ । हामीले सबैले सही सूचना पाउनु पर्छ भन्ने मान्यता राखेर सबैमाझ विभिन्न सञ्चार माध्यम पनि प्रयोग गरेर सूचना प्रवाह गरिरहेका छौं । त्यसमा पनि सञ्चार पहुँच नहुने क्षेत्रमा स्वयम् बस्तीबस्तीमा पुगेर सूचना दिने कामलाई प्राथमिकतामा राखेका छौं ।

सूचनाको प्रभावकारिता कस्तो छ ?

यसले आम जनसमुदायलाई सचेत बनाएको हामीले विश्वास लिएका छौं । आम नागरिकलाई कसरी बाँच्न र बचाउन सक्छौ भन्ने कुरालाई जिङ्गल बनाएर सूचना प्रसारण गर्ने गरेका छौं । सूचना प्रवाहको प्रभावकारिता पनि राम्रो भएको छ । हामीले यसको पनि मूल्याङ्कन गर्ने गरेका छौं । गाउँपालिकामा ५ सय २७ जना संक्रमित रहेका छन् । ७ जनाको मृत्यु नै भइसकेको अवस्था भएकाले पनि जुन उद्देश्यले सूचना प्रवाह गरिएको हो त्यो उद्देश्य पूरा होस् भन्ने कुरामा हामी सजग छौं ।

कोरोना महामारीलाई निष्क्रिय बनाउन के कस्तो प्रयास भएका छन् ?

त्यसका लागि हामीले भेरी अस्पताल र विभिन्न सांसदसँग समन्वय गरिरहेका छौं । आयुर्वेदसँग सम्बन्धित विज्ञसँग पनि समन्वय गरिरहेका छौं । अहिलेको प्रचुर अभाव रहेको अक्सिजन सिलिण्डर हो । यसलाई १५ वटा बेडमा जडान गरेका छौं । ९ जनाले त सेवा नै लिनु भएको छ । हामीले इस्टकबाट भए पनि लिएर अक्सिजन दिइरहेका छौं । सक्दो प्रयास गरेर जनस्तरमा सेवाप्रवाह गर्ने काम गरिरहेका छौं । कोरोना भाइरसको दोस्रो लहरको महामारीलाई निष्क्रिय बनाएर जनतालाई मृत्युबाट बचाउन जनप्रतिनिधिलगायत हामी सबै लागि परेका छौं ।

आइसोलेसन निर्माणबाहेक अतिरिक्त क्रियाकलाप के भएका छन् ?

अहिले हामी दोस्रो लहरको कोरोना महामारीसँग प्रत्यक्ष रुपमा लडिरहेका छौं र यसबाट आफूलगायत जनतालाई कसरी बचाउन सकिन्छ भन्नेतर्फ राष्ट्र र सम्पूर्ण स्थानीय तहको क्रियाकलाप केन्द्रित भएकाले आइसोलेसन सेन्टरमा खानपानमा सहजता आओस् भनेर ग्यास चुल्होको व्यवस्था गरेका छौं । गाउँस्तरमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले जनचेतनामूलक क्रियाकलाप गर्नुका साथै थर्मोमीटर, सिटामोल, साबुन, स्यानिटाइजर, माक्स जस्ता स्वास्थ्य सामाग्रीहरु घरदैलोमै गएर वितरण गर्ने काम गरेका छौं ।

गाउँपालिकाको प्रयासलाई साकार पार्न जनशक्ति व्यवस्थापनको काम कसरी भइरहेको छ ?

९ वटै वडामा कोभिड फोकल पर्सन तोकेका छौं । कोरोना संक्रमणको अवस्थाबारे चाँडो जानकारी प्राप्त होस् भनेर हामीले प्रत्येक वडामा फोकल पर्सन तोकेका हौं । फोकल पर्सन तोकेका कारण क्षणभरमै सूचना संकलन भइरहेको छ । तत्काल रेसपोन्स गर्ने टिम पनि छ । दुईवटा एमबीबीएस डाक्टर पनि हामीसँग हुनुहुन्छ । राप्तीसोनारीका जनतालाई सहज तरिकाले सेवा दिने हरसम्भव प्रयास गरेका छौं । दुई जना एमबीबीएस डाक्टरद्वारा जनतालाई सेवा दिन सक्नु नै हामीले उपलब्धिको रूपमा लिएका छौ । हामीसँग भएका जनशक्तिलाई पनि दक्षता अनुसार परिचालन गरेका छौं । हामीसँग दक्ष जनशक्ति भएकाले नै गुणस्तरीय सेवा प्रवाह गर्न सकेका हौं ।

जनप्रतिनिधिहरुले कसरी लिनु भएको छ ?

हाम्रो प्रयासलाई सफल बनाउन जनप्रतिनिधिहरुको अहम भूमिका हुन्छ र रहेको छ । गाउँपालिकामा सञ्चालित अस्पताल र आइसोलेसनको अवस्था पनि राम्रो छ । हामीले आवश्यकता अनुसार आइसोलेसनको संख्या बढाउँछौं । यो काममा गाउँपालिका अध्यक्षलगायतका जनप्रतिनिधिहरु पनि गम्भीरतापूर्वक लागिरहनु भएको छ । जनप्रतिनिधिहरुले बिरामीहरुलाई आफैंले बोकेर पनि आइसोलेसनसम्म पुर्‍याइ रहनु भएको छ । यातायातको व्यवस्थापन गर्नु हुन्छ । संक्रमितहरुको अवस्था पहिचान गरी गाउँपालिकामा खबर गर्नु हुन्छ ।

कारोना महामारी लक्षित आगामी योजना के छन् ?

हामीले संयन्त्र नै निर्माण गरेर काम गरिरहेका छौं । यसका लागि सरोकारवालासँग छलफल गरेर काम गरिरहेका छौं । आम नागरिक समाज, पत्रकार, संचार संस्था, गैर सरकारी संस्था सबै सरोकारवालासँग समन्वय र छलफल गरेर हामीले काम गरिरहेका छौं । साथै अप्ठेरो अवस्था आए कसरी समाधान खोज्ने भनेर विकल्प खोज्ने काम पनि भइरहेको छ ।

औषधि अभाव छ कि छैन ?

औषधि अभाव अहिलेसम्म भएको छैन । भविष्यमा पनि अभाव नहोस् भनेर त्यहीँ अनुरुप काम गरिरहेका छौं । मृत्युका धेरै कारण हुने भएता पनि औषधि नपाएरै जनता नमरुन् भनेर समन्वयात्मक ढंगबाट काम गरिरहेका छौं ।

अन्य समस्या भएका बिरामीहरुलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?

स्वास्थ्य संस्थामा आउने वृद्ध, सुत्केरी, अपाङ्गता भएका व्यक्तिलाई कुनै समस्या भए विशेष सावधानी अपनाएर उपचार गर्ने व्यवस्था मिलाएका छौं । कोरोना संक्रमणबाहेक अन्य बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यले नै दुईवटा एमबीबीएस डाक्टरको व्यवस्था गरिएको हो । विशेष गरी वृद्ध र सुत्केरीलाई सावधानीपूर्वक सेवा दिनु पर्ने भएकाले कोरोना संक्रमितसँगको सम्पर्कमा नआउने तरिकाले उपचार गर्ने व्यवस्था गरेका छौं । हामीले उहाँहरुलाई सहज सेवा सुविधा दिन लागि परेका छौं । ठाउँ ठाउँमा पर्चा पम्पलेट दिएर यस्ता सेवाबारे जानकारी गराएका छौं । बिरामीहरुको उच्च मनोबल प्रदान गर्न लागि परेका छौं ।

तपाइँको सन्देश ?

म के आग्रह गर्न चाहन्छु भने हामी एकदमै जटिल अवस्थामा छौं । अनाहकमा मर्नु परेको अवस्था छ । यो भयानक स्थिति हो । त्यसैले हामीले नेपाल सरकारद्वारा तोकिएको स्वास्थ्य मापदण्ड एवम् निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्नु पर्छ । यस्तो अवस्थामा हामी सबै एकजुट भई यस महामारीविरुद्ध लड्नु पर्छ । स्वास्थ्य मापदण्ड अपनाउँदा पनि कोरोना संक्रमणको लक्षण देखिए जनप्रतिनिधि, गाउँपालिका वा स्वास्थ्यकर्मीलाई तुरुन्त खबर गर्न आग्रह गर्दछु । कुनै एक व्यक्तिबाट भएको गल्तीको भागिदार सम्पूर्ण समाज नै हुने भएकाले यसबाट सबै बच्नु पर्छ भन्न चाहन्छु ।

Womui
Womui