ढाडस दिन औषधि र स्वास्थ्यकर्मीसहित घरघर पुग्छन् अध्यक्ष लाहुराम

201

नेपालगन्ज– यतिबेला कोरोना भाइरसको संक्रमणले धेरै व्यक्ति घरमै थलिएका छन् । के हुने हो कसो हुने हो भन्ने मनमा अनेकथरी कुरा खेलाएर आइसोलेसनदेखि होम आइसोलेसनमा बस्न बाध्य छन् । केही दिन अघि आफू पनि संक्रमित भई होम आइसोलेसनमा बस्दा यस्तै खाने अनेकथरी कुराहरु मनमा खेल्ने गरेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु सम्झन्छन् ।

होम आइसोलेसनमा बस्दाको क्षण मनमा नराकात्मक कुरा धेरै खेल्ने भएकाले यस्तो अवस्थामा  आफन्त, साथीभाइ भेट्न आउँदा मनमा राहत महसुस हुने अध्यक्ष थारुको भनाइ रहेको छ । दिनहुँजसो घरपरिवार, आफन्त र साथीभाइ भेट्न आउँदा आफूले त्यस्तो अनुभव नगरे पनि केही समय एक्लै हुँदा मनमा अनेकथरी नकारात्मक कुरा खेल्ने गरेको अनुभव आफूसँग भएकाले पनि गाउँपालिकावासीले एक्लो र नकारात्मक कुराले उनीहरुको मनमा बास नगरोस् भन्ने उद्देश्यले उनीहरुलाई ढाडस दिन औषधि र स्वास्थ्यकर्मीसहित घरघरमा पुग्ने गरेको बताउँछन् ।

यस विषम परिस्थितिमा आज के छ भोलि के हुने हो भन्ने कसैलाई थाहा नभए पनि बाँचुन्जेल एकअर्काको सहयोगी बनेर अघि बढ्नु पर्ने अध्यक्ष थारु बताउँछन् । ‘विशेष गरी संक्रमणका कारण संक्रमितको मनोबल सामान्य व्यक्तिको तुलनामा कम हुने भएकाले उनीहरुको मनोबल उच्च राख्न पनि उनीहरुलाई एक्लो महसुस हुने वातावरण सिर्जना गर्नु हुँदैन्,‘ अध्यक्ष थारु भन्छन्,‘ संक्रमितको आसपास र उनीहरुको स्वास्थ्य अवस्थाबारे घरपरिवार, आफन्त र साथीभाइले बाम्बार सोधिरहनु पर्छ ।’ अध्यक्ष थारुका अनुसार संक्रमितलाई सकभर सामाजिक सञ्जाल चलाउन दिनु हुँदैन र कोरोना भाइरसले मच्चाएको विध्वंशबारे थाहा दिनु हुँदैन । होम आइसोलेसनमा बसेका संक्रमितलाई शान्त र सुन्दर पारिवारिक वातावरणको आभास गराउनु पर्छ । त्यस परिवारमा संक्रमितको अस्तित्व उच्च छ भन्ने भावना जगाउने खाले वातावरण सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष थारुले बताए ।

त्यसैले पनि सोमबार स्वास्थ्यकर्मी र औषधिसहित होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाहरुको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुलाई ढाडस दिने उद्देश्यसहित वडा नम्बर ३, ८ र वडा नम्बर ९ मा होम आइसोलेसनमा बसेका गाउँवासीको घरदैलोमा अध्यक्ष थारु पुगेका छन् ।

‘होम आइसोलेसनमा बसेकाको हौसला बढाउन जरुरी छ, उहाँहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने पनि बुझ्छौं र आवश्यक परामर्श दिन्छौं,’ अध्यक्ष थारुले भने,’ औषधि पनि दिने गरेका छौँ ।”

अक्सिजन लेभल घटेका, श्वास फेर्न गाह्रो भएका, औषधि सेवन गर्दा पनि समस्या भइरहेकालाई अध्यक्ष थारुले सल्लाह सुझाव दिँदै आएका छन् । घरमा आइसोलेसनमा बस्न  समस्या भएकालाई गाउँपालिकाले संचालन गरेको आइसोलेसनमा बस्न आग्रह समेत गर्ने गरिएको अध्यक्ष थारुले बताए ।

Womui
Womui