कोरोना महामारी अन्त्यको कामना गर्दै दीप प्रज्ज्वलन

438

नेपालगन्ज– कोरोनाको दोस्रो लहर नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि बाँकेमा दीप प्रज्ज्वलन गरिएको छ। कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीसहित सबै आम नेपालीको मनोबल बढाउन र दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलनका लागि पत्रकार एवम् अभियन्ता जयनारायण शाहले नेपालगन्जवासीलाई सार्वजनिक रुपमा आह्वान गरेका थिए । पत्रकार एवम् अभियन्ता शाहको आह्वान अनुरुप बिहीबार बेलुकी नेपालगन्जवासीले घरको मूलढोका, बरण्डा र बार्दलीमा दीप प्रज्वलन गरेका थिए । बिहीबार बेलुकी ७ बजेर ३० मिनेटदेखि ८ बजेसम्म आ–आफ्नो घरमा दीप प्रज्वलन गरेका हुन्। महामारीको समयमा सबै नेपाली एकजुट हुनुपर्छ र भएका छौं भन्ने सन्देश दिन दीप प्रज्वलन गरिएको शाहले बताए ।

त्यस्तै बुधबार पनि शाहकै अग्रसरतामा बाँकेका विभिन्न धर्मका धर्मगुरुले आ–आफ्ना धार्मिक स्थलमा एकै समयमा पूजापाठ गरेका थिए। धर्मगुरुले बुधबार बेलुकी ४ बजेर ३० मिनेटदेखि ५ बजेसम्म विशेष पूजापाठ गरेका हुन्।

Womui
Womui