बाँकेको नौबस्ता लगायत पाँच क्षेत्रमा १ खर्ब लागतमा औद्योगिक क्षेत्र निर्माण हुँदै, ५२ हजारलाई रोजगारी

189


छिनछिन खबर
काठमाडौं–
बाँकेको नौबस्ता लगायत देशका पाँच क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण हुने भएका छन् । ती औद्योगिक क्षेत्र निर्माणका लागि सरकार आवश्यक पर्ने विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्नेदेखि जग्गा अधिग्रहण गर्ने, वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तयार पार्ने लगायतका काम सम्पन्न गरेर निर्माणको तयारीमा जुटेको छ ।

यसै साता मात्रै ५ वटा औद्योगिक क्षेत्रको शिलान्यास हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए । ‘हामीले यस्तै साता ५ वटा औद्योगिक क्षेत्रका शिलन्यास गर्दैछौं,’ उनले भने । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, झापाको दमकमा ठूला औद्योगिक क्षेत्र यसै साता शिलान्यास गरेर निर्माण सुरु हुनेछन्,’ उनले भने । उनका अनुसार ती औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रियाहरु पूरा भइसकेका छन् । उनले औद्योगिक क्षेत्रका लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) जग्गा अधिग्रहण गर्ने र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार पार्ने काम भइसकेको बताए ।


‘अर्थ मन्त्रालयले आवश्यक बजेट दिने प्रतिबद्धता गरेपछि हामीले औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने तयारी गरेका हौँ, औद्योगिक क्षेत्र निर्माणको काम अब तीव्र गतिमा अगाडि बढ्छ,’ उनले भने । औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि ५२ हजारले रोजगारी पाउने उनको भनाइ छ । उनका अनुसार १ सय बिघा क्षेत्रफल, नौबस्ताको ५ सय २५ बिघा क्षेत्रफल, दैजी–छेलाको ९ सय बिघा क्षेत्रफल रहनेछ । उनले मयूरधापले १० हजारलाई, नौबस्ताले २० हजारलाई र दैजी–छेलाले २२ हजारजनालाई रोजगारी दिनेछ । स्वदेशी लगानीमा बनेको औद्योगिक क्षेत्रले मात्रै ५२ हजार मानिसलाई रोजगारी दिने उनको भनाइ छ ।
अध्यक्ष बस्नेतले पाँच औद्योगिक क्षेत्रमध्ये ३ स्वदेशी र २ औद्योगिक क्षेत्र विदेशी लगानीमा बन्ने बताए । उनका अनुसार विदेशी लगानीमा बन्ने दमकको औद्योगिक क्षेत्रको अनुमानित लागत ६३ अर्ब रहेको छ ।


यस्तै, विदेशी नै लगानीमा बन्ने मोतीपुर औद्योगिक क्षेत्रको लागत १२ अर्ब, हेटौंडाको मयुरधारा औद्योगिक क्षेत्रको ७ अर्ब २ करोड, बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको ८ अर्ब र कञ्चनपूरको दैजी–छेला औद्योगिक क्षेत्रको लागि ८ अर्ब रुपैयाँ लगानी लाग्नेछ ।

Womui
Womui