नेपालमा भ्रष्टाचार बढ्योः ट्रान्सपरेन्सी इन्टरनेसनल

435


छिनछिन खबर
काठमाडौं
–सरकारी दलका नेता र कर्मचारतन्त्रले सुशासनका गफ हाक्ने गरे पनि यथार्थतामा नेपालमा भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले संसारभर सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्स (सिपीआई) २०२० मा भने भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको विवरण उल्लेख छ ।

सिपीआईमा नेपाल भ्रष्टाचार बढी हुने देशमा सूचीकृत गरिएको छ । सो संस्थाले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेको छ । सो यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्यूजिल्याण्डले कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा दर्ज भएका छन् । त्यस्तै साउथ सुडान र सोमालिया १२ अंक प्र्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् । सीपीआईमा दुईतिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यस वर्षको औसत स्कोर ४३ रहेको छ ।

सन् २०१९÷२० मा विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२० मा नेपाललाई १०० मा ३३ अंक प्राप्त भएको छ । यो भनेको कूल १८० देशमध्ये नेपाल ११७ औं स्थानमा रहेको छ । यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा रहेको देखाएको छ ।

गतवर्ष नेपालको अंक ३४ (११३ औं स्थान) रहेको थियो । सीपीआई २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनुलाई प्रमुख कारण मानेको छ । यस्तै, सार्वजनिक तहमा बसेका पदाधिकारीलाई कारवाहीमा नहुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँच नहुनु जस्ता समस्या कायमै रहेको संदेश दिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायहरुको सशक्तिकरण, खुल्ला तथा पारदर्शी ठेक्का प्रकृया, लोकतन्त्रको रक्षा, नागरिक संस्थाको स्वतन्त्रता, तथ्यांक सम्प्रेषण र सूचनामा पहुच जस्ता सुझाव दिएको छ ।

सीपीआई २०२० मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २४ औं स्थान, मालदिभ्स ४३ अंक प्राप्त गरी ७५ औं स्थान, भारत ४० अंक प्राप्त गरी ८६ औं स्थान, श्रीलंका ३८ अंक प्राप्त गरी ९४ औं स्थान, नेपाल ३३ अंक प्राप्त गरी ११७ औं स्थानमा छ । त्यसैगरी पाकिस्तान ३१ अंक प्राप्त गरी १२४औं स्थान, बंगलादेश २६ अंक प्राप्त गरी १४६औं स्थान र अफगानिस्तान १९ अंक प्राप्त गरी १६५औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अंक प्राप्त गरी ७८ औं स्थानमा रहेको छ ।

Womui
Womui