बाँकेका प्रजिअको आशय,‘व्यापारीसँग मिलेर तस्करी रोक्ने !’

167

नेपालगन्ज– बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले व्यापारीसँग मिलेर तस्करी रोक्न सकिने आशय व्यक्त गरेका छन् । तस्करी रोक्ने हो भने हामीलाई तपाईहरुको साथ चाहियो,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निरास हुँदै भने, ‘हाम्रो प्रयासबाट ५० प्रतिशत तस्करी कन्ट्रोल भइसकेको छ, अब सकिएन ।’ नेपालगन्ज उद्योग वाणिज्य संघको ५३ औं स्थापना दिवसका अवसरमा प्रजिअ कुरुम्वाङले यस्तो भनेका हुन् ।

केही दिन अघि ‘तस्करी रोक्न प्रहरी प्रशासनले चाह्यो भने सक्छ भन्ने मेरो बुझाई बाँकेमा आएर सफल भएन’, ‘तस्करलाई ठाउँको ठाउँ गोली हान्ने’, ‘थोरै सामानको लागि भए पनि मलाई कष्ट नदिनु’ जस्ता अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्टेका प्रजिअ कुरुम्वाङले यस्तो आशय व्यक्त गर्दा आम जनमानसमा व्यापारीसँग मिलेर साँच्चिकै तस्करी रोक्न सकिएला त भन्ने चर्चा परिचर्चा चल्न थालेको छ ।

दुई पैसा सस्तोको लागि दैनिक उपभोग्य वस्तु लिन भारतीय बजार पुग्ने सर्वसाधारण माथि लगाइएको कडा प्रतिबन्धले तस्करी नरोकिने सर्वसाधारणको धारणा रहेको छ । सीमानाकाबाट जति पनि तस्करी हुन्छन् व्यापारिक प्रयोजनको लागि मात्र हुने भएकाले व्यापारीद्वारा नै हुने तस्करीलाई प्रशासनले नियन्त्रण गर्नु पर्ने स्थानमा उल्टै उनीबाटै तस्करी रोक्ने उपाय माग्दा के तिनले तस्करी रोक्ने कार्यमा हातेमालो गर्लान भन्ने चासोको विषय बनेको छ ।

हाल प्रशासनद्वारा नाकामा गरिएको कडाइ आम सर्वसाधारणका लागि मात्र गरिएको भन्दै एक स्थानीयले भने,‘तस्करी रोक्नु छ भने सर्वसाधारणलाई होइन, व्यापारीलाई कडाइ गर्नु पर्छ ।’ नेपालमा व्यापारीले चिनी प्रति केजी ९० सम्म लिने गरेको बताउँदै उनले भने,‘भारतीय बजारमा ६० रुपैयाँ केजी चिनी पाइन्छ । त्यस्तै अन्य उपभोग्य वस्तु पनि यहाँको तुलनामा त्यहाँ धेरै सस्तो छ । घर खर्च चलाउन दुई चार केजी समान लिन जाने सर्वसाधारणलाई कडाइ गरेर तस्करी रोक्छु भन्नु मुर्खता हो ।’ तस्करी रोक्नै छ भने उद्योगी व्यवसायीको साथ र सहयोग माग्नुका साथै भारतीय बजार र नेपाली बजारको समायोजन मूल्य निर्धारण गर्नु पर्ने र सीमानाकासँग जोडिएका क्षेत्रमा गरिने व्यापार व्यवसायलाई पनि निगरानी गर्नु पर्ने जानकारहरु बताउँछन् ।

Womui
Womui