सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो

446


छिनछिन खबर
काठमाडौं–
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्को छ । नेपालले आफैं गरेको मापनमा उचाइ बढेको हो । अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएको छ । नेपाल र चीनले एकै पटक सगरमाथाको नयाँ उचाइबारे औपचारिक घोषणा गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका थिए । यसैगरी चिनियाँ पक्षबाट त्यहाँका परराष्ट्रमन्त्री वाङ यीले उचाइबारे घोषणा गरेका थिए । २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपालले आफ्नै साधन र स्रोतबाट सगरमाथाको नयाँ उचाइ मापन गर्ने निणय गरेको थियो । त्यसको एक वर्षपछि सगरमाथाको उचाइ मापनको काम सुरु गरिएको थियो ।

नयाँ उचाइ (८ हजार ८ सय ४८ दसमलब ८६ मिटर) लाई चीनले पनि औपचारिक मान्यता दिएको छ । यसअघि चीनले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दसमलब ४३ मिटर रहेको मान्दै आएको थियो । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेका हुन् । सगरमाथाको उचाइ मापन गर्न नापी विभागले सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरेको थियो । सगरमाथा मापन टोलीले ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको हो ।

सगरमाथाको उचाइ मापन गर्न नापीका दुईजना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए ।
सगरमाथाको उचाइ मापन गर्न विभागका प्राविधिकहरूले ३ सय ४६ वटा विन्दुलाई आधार बनाएका थिए । उनीहरूले बंगालको खाडीलाई आधार बनाएर चुचुरोमा जमेको हिउँसम्म नै मापन गरेका थिए । सगरमाथाको उचाइ मापन सकिएपछि ६ महिनासम्म विभागका कर्मचारीले डाटा प्रोेसेसिङ गरेका थिए । चीनले भने उत्तरी मोहडाबाट मापन सुरु गरेको थियो ।

Womui
Womui