नमस्कार शाहको ‘खबरदारी’

416

नेपालगन्ज– पत्रकार एवम् भ्रष्टाचारविरुद्धका अभियन्ता नमस्कार शाहको पुस्तक खबरदारी बजारमा आएको छ । पुस्तकमा २४ वटा लेख र १६ वटा संस्मरण समेटिएको छ । २०७३ सालदेखि सङ्ग्रहित भ्रष्टाचारविरुद्धका प्रतिनिधिमूलक लेख र संस्मरण पुस्तकमा समेटिएको हो ।

भ्रष्टाचारविरुद्ध अभियानमा सक्रिय शाह १९ वर्षदेखि भ्रष्टाचारविरुद्ध बोल्न र लेख्न थालेको बताउँछन् । बोल्नु र लेख्नु सजिलो कुरा नभए पनि अन्‌र्तआत्मादेखिको भावना र नैतिकतासँग जोडिएको कुरा भएकाले यसलाई निरन्तरता दिँदै आएको बताउँदै उनी भन्छन्,‘ भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउनका लागि ती लेख र संस्मरणलाई पुस्तकको रूपमा बजारमा ल्याएका छौं ।’ भ्रष्टाचारविरुद्धको अभियानमा हिँड्नु कुनै रहर र लहडले मात्र सम्भव नहुने भएकाले भावनात्मक र नैतिक हिसाबले मानिस बलियो हुनु पर्ने उनको भनाइ छ ।

अछाममा जन्मिएका बुबा लोकबहादुर शाह र आमा रमादेवी शाहका छोरा लेखक शाह दुई दशक भ्रष्टाचारविरुद्धको अभियानमा हिँड्दा के प्राप्ति भयो भन्ने उत्तर आफूसँग नभए पनि आफूलगायत हजारौं व्यक्ति गलत कामकोविरुद्ध नबोलिदिएको भए यो देशको स्थिति के हुन्थ्यो होला ? भन्ने सोचेरै भ्रष्टाचारविरुद्धको अभियानमा जीवनपर्यन्त लेखिरहने र बोलिरहने बताउँछन् ।

लेखक शाह आफूले देखेको र भोगेको देशको कहालीलाग्दो अवस्थालाई चित्रण गर्दै भन्छन्,‘ देशमा प्रजातन्त्र हेर्‍यौं । प्रजातन्त्रको यात्रा लोकतन्त्र र संघीय गणतन्त्रसम्म आइपुग्यो । देशको स्वरूप परिवर्तन भयो प्रकृति बदलिएन, देशमा नीति बद्लियो तर नियम बदलिएन यस अवधिमा जुन जोगी आए पनि कानै चिरेको भन्ने चरितार्थ यथार्थमा परिणत भयो । सुरुका अवस्थामा भ्रष्टाचार निर्मूलीकरणका लागि सबैले प्रतिबद्धता जनाए पनि त्यो व्यवहारमा लागू भएन ।’
२०७३ सालमा समाज परिवर्तनका लागि सुशासन नामक पुस्तक लेखेका शाहले थपे,‘देशमा तीन तहको सरकार छन् । गाउँगाउँमा सिंहदरबारको नारा घन्क्याइएको छ तर ती सिंहदरबारमा सुविधा कम र विकृति बढेको छ । यी र यस्तै सरकारी निकाय तथा समाजमा हुने गलत कामकोविरुद्ध खबरदारी गर्न पनि पुस्तक निकालिएको हो ।’

चार सय रुपैयाँ मूल्य रहेको पुस्तकमा ७७ वटा जिल्ला प्रशासन कार्यालयबाट सूचना माग गर्दाको फेहरिस्त, भ्रष्टाचार विरुद्धका अभियानमा सक्रिय रहँदा भोगेका उतार चढाव, पावरका भरमा हुने पुरस्कार वितरण, पत्रिकामा समाचार लेखेकै कारण साधारण सदस्य समेत नरहने गरी एक संस्थाले कारबाही गरेको घटना, ‘प्रेस सेन्सरसीप’ शीर्षकमा तीन तहको सरकारमा प्रमुखहरुको प्रेस सल्लाहकार हुँदा त्यसले व्यवसायिक पत्रकारितामा पारेको असर, निःस्वार्थ रूपमा सामाजिक कार्यमा तल्लीन प्रेरणा लिनु पर्ने व्यक्तित्वबारे पुस्तकमा चर्चा गरिएको छ ।

बहुप्रतिभाशाली लेखक शाह भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय गैरसरकारी संस्था बागेश्वरी असल शासन क्लब (बास) का कार्यकारी निर्देशन, असल शासन पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक/प्रकाशक, असल शासन डटकम अनलाइन पत्रिकाका सम्पादक/प्रकाशक तथा गैरसरकारी महासंघ बाँकेका अध्यक्ष हुन् ।
बासद्वारा प्रकाशन गरिएको पुस्तक अकालमै मृत्युवरण गरेकी दिदी माया शाहप्रति लेखक शाहले समर्पित गरेका छन् ।

Womui
Womui