व्यवसायिक खेतीतर्फ गाउँपालिकाको कदम

40

क्षेत्रफलको हिसाबले १०४१.८२ वर्ग किलोमिटरमा फैलिएको बाँकेकै सबैभन्दा ठूलोे राप्ती सोनारी गाउँपालिका पर्याप्त कृषियोग्य जमिन भएको गाउँपालिकाका हो । प्राकृतिक सम्पदा, नदी नालाजन्य स्रोतसाधनको धनी राप्ती सोनारी गाउँपालिका क्षेत्रमा रहेको अधिकांश जमिन उर्भरमुखी रहेको छ । २०७५ को सर्वेक्षणअनुसार ६७३०० जनसंख्या रहेको यस गाउँपालिकाका अधिकांश जनता कृषि र पशुपालनमा निर्भर रहेका छन् । परम्परागत खेती गर्दै आइरहेका गाउँपालिकाका कृषक, अहिले गाउँपालिको सहयोगमा कृषिमा आधुनिक प्रविधि अपनाएर उत्पादनमा वृद्धि गर्दै गइरहेका छन् । राप्ती सोनारी गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएकै कारण धेरैले कृषिलाई व्यवसायिक रूपमा आम्दानीको स्रोत बनाउँदै लगिरहेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु बताउँछन् ।

राप्ती सोनारी गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि हरेक वर्ष ठूलो मात्रामा बजेट छुट्याउँदै आइरहेको छ । गाउँपालिकाको २०७६/०७७ को मात्रै बजेट हेर्ने हो भने कूल बजेटको २ प्रतिशत भन्दा बढी बजेट कृषिका लागि छुट्याइएको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री बताउँछिन् । राप्ती सोनारी गाउँपालिकाले २०७६/०७७ को कूल बजेट ७६,०८,३९,००० अन्तर्गत कृषिका लागि १,४८,४५,००० बजेट छ्ट्याएको हो । साथै कृषि क्षेत्रकै विकासका लागि गाउँपालिकाले जलस्रोत तथा सिँचाइका लागि ५५,५०,००० बजेट पनि छुट्याएको छ । गाउँपालिका अध्यक्ष थारुका अनुसार कृषिको विकास नै गाउँपालिको विकास भएकाले कृषिलाई महŒवपूर्ण स्थान दिइएको बताउँछन् ।

गाउँपालिकाले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि विगतका वर्षदेखिनै ९ वटै वडामा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आइरहेको कृषि प्राविधिक चन्द्रकुमारी शाही बताउँछिन् । गाउँपालिकाले व्यवसायिक खेती गर्ने विकासनका लागि वस्तुगत सेवा दिनुका साथै सिँचाइ व्यवस्थाका लागि डिबोर्रिङ गाड्ने, मलखाद र बीउबिजन उपलब्ध गराउने, आवश्यकताअनुसार कृषि सम्बन्धी तालिम तथा अनुदानको पनि काम गर्दै आइरहेको छ । किसानद्वारा उत्पादिन कृषि सामग्रीको बिक्रीका लागि गाउँपालिकाले तरकारी संकलन केन्द्र र शीत भण्डारको क्रमशः विकास र विस्तार गर्दै आइरहेको छ । गाउँपालिकाले जैविक खेती प्रणालीको सुरुवात गर्दै अत्याधिक विषादी प्रयोगलाई निरुत्साहित गर्दै विशेष बाली उत्पादनका लागि पकेट क्षेत्रहरूको विस्तारका योजनाहरूलाई अघि सारेको छ । किसानलाई व्यवसायिक बनाउन कृषिमा आइपर्ने सानातिना समस्यालाई आफैंले सुल्झाउनका लागि गाउँपालिकाले वडा नम्बर ३ र ८ मा कृषक पाठशाला पनि सञ्चालन गरेको छ ।

कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले २०७६÷७७ मा ९ वटै वडामा विभिन्न प्रकारका उत्पादनमूलक योजनालाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले खाद्यान्नबाली तालिम, तरकारी खेती तालिम, उत्कृष्ट कृषक सम्मान कार्यक्रम, तरकारीको कम्पोजिट, बीउ वितरण अनुदान, व्यवसायिक खेती तालिम तथा च्याउ बीउ वितरण, कृषि यान्त्रीकरण कार्यक्रमलगायतका कार्यक्रमहरू ९ वटै वडामा सञ्चालन गर्दै आइरहेको छ । यसका साथै गाउँपालिकाले वडा नम्बर २ को सम्शेरगंजमा कृषि हाट बजार निर्माण, वडा नम्बर २ मटुवाको अधुरो हाट बजार निर्माण, वडा नम्बर ३ को विभिन्न स्थानमा कृषिसम्बन्धी विभिन्न कार्यक्रम, वडा नम्बर ४ मा बोरिङ जडान, वडा नम्बर १ का विभिन्न स्थानमा सिँचाइका लागि पाइप खरिद, वडा नम्बर ८ को पेरानी र धर्मौतीमा एक÷एकवटा डिबोरिङ निर्माण, वडा नम्बर ७ मा सिँचाइका लागि नहरदेखि सिसौधारीसम्म पक्की सिँचाइ कुलो निर्माण र सर्रा सिँचाइ पक्की कुलो निर्माणका लागि ठूलो धनराशी गाउँपालिकाले छुट्याएर काम गरिरहेको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएकै कारण व्यवसायिक कृषितर्फ गाउँपालिकाका किसान धेरै नै आकर्षित भएका छन् । गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएकै कारण गाउँपालिकाका कृषक अहिले कृषिको प्राथमकिता बढाउँदै सयौँ बढी हाराहारीमा विभिन्न प्रकारका सरकारी, समूह फर्म दर्ता गरेर सञ्चालन गर्नेैै क्रम बढ्दै छ । हाल गाउँपालिकामा १ सय ६० का हाराहारीमा विभिन्न समूह र सहकारी दर्ता भइसकेका छन् । यसरी कृषिमा भएको क्रान्तिकारी परिवर्तन र व्यवसायीकरणले कृषकमा ठूलो आत्मबल प्रदान गरेको छ । यहाँ किसानहरू कृषिलाई व्यवसायिक पेसाका रूपमा परिवर्तन गरेर आत्मनिर्भर बन्न सकिनेमा स्पष्ट छन् । कृषि पेसालाई व्यवसायिक पेसाका रूपमा विकसित गरेर आत्मनिर्भर बनेका थुप्रै उदाहरणहरू गाउँपालिकामा रहेका छन् ।

कृषि क्षेत्रलाई व्यवसायिकरण बनाएका राप्ती सोनारी गाउँपालिक वडा नम्बर ८ सम्शेरगंजका मानबहादुर खड्का विगत १५ वर्षदेखि तरकारी खेती गर्दै आइरहेको बताउँछन् । दुई विघाभन्दा बढी जमिनमा तरकारी खेती गर्दै आइरहेका खड्का तरकारी खेतीबाट आर्थिक उन्नति गर्न सकिने बताउँछन् । ‘तरकारी खेती मेहेनतको काम हो,’ खड्काले भने, ‘ विदेश जानुभन्दा यसैबाट आर्थिक उन्नति गर्न सकिन्छ ।’ खड्काले हाल २२ कट्ठा जमिनमा काँक्रा खेती गरेका छन् भने अन्य जमिनमा लौका, मकैलगायतका खेती गरिरहेका छन् । उनी जस्तै सोही ठाउँका गोपाल खड्का केरा खेती गर्दै आइरहेका छन् भने सोही ठाउँकी लक्ष्मी केसी केरा खेतीसँगै बंगुर पालन पनि गर्ने गर्दछिन् । सम्शेरगंजका हरिशचन्द्र केसी पनि तरकारी खेतीमै व्यस्त छन् । उनीहरूजस्तै वडा नम्बर १ कुसुमका कर्णबहादुर ओली, वडा नम्बर १ बाघखोर गाउँका झग्गु ओली, वडा नम्बर ३ बैजापुरका थारु महिला व्यवसायिक कृषिका ज्वलन्त उदाहरणहरू हुन् ।

राप्ती सोनारी गाउँपालिकाले कृषि क्षेत्रमा गरेको क्रान्तिकारी परिवर्तनकै कारण राप्ती सोनारी गाउँपालिकाका जनताको आकर्षण कृषि क्षेत्रमा बढ्दो छ । कृषिलाई व्यवसायिकरण गर्न सके आर्थिक उन्नति हुन्छ भन्ने उदाहरण राप्ती सोनारीले दिएको छ । गाउँपालिकामा रहेका कृषकको खेतसम्म गाउँपालिकाले सिँचाइ र उत्पादिन वस्तुको आपूर्ति गर्न सक्ने हो भने राप्ती सोनारी गाउँपालिका सुन फल्ने ठाउँ नबन्ला भन्न सकिन्न । साभारः समृद्ध राप्ती सोनारी

Womui
Womui