अथकको अथक प्रयासले बाँकेको नरैनापुरमा २६ वर्षपछि बत्ती

497

खिम घर्ती
नरैनापुरवासीले घरदैलोमा ठिङ्ग उभिएका पोल हेरेरै २६ वर्ष बिताए । २०५१ सालमा नरैनापुरमा बिजुली पुर्‍याउने भन्दै बिजुलीका पोल गाडिएका थिए । २०५१ साल यता चारवटा निर्वाचन सम्पन्न भए पनि नरैनापुरवासीले २६ वर्ष बिजुलीका पोल हेरेरै बिताए । बिजुली नहुँदा सुगम जिल्लाको दुर्गम गाउँ बनेको नरैनापुरवासीका लागि बिजुली उपभोग गर्न पाउने सपनालाई साकार बनाउन बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज अथकको अथक प्रयासले ठूलो भूमिका खेल्यो ।

बिजुलीका पोल गाडिए पनि नरैनापुरमा बिजुली लैजान त्यति सहज भने थिएन । पोल गाडिएको २६ वर्षको अवधिमा बिजुलीको तार तान्न २१२ वटा रुखहरु बाधक भएका थिए । वन मन्त्रालयको नियम अनुसार जथाभाबी रुख काट्न नपाइने भएकाले रुख काट्नका लागि अथकले ठूलो कसरत गर्नु पर्‍यो । जब २०७४ सालमा अथकले चुनाव जिते त्यसलगत्तै नरैनापुरमा २६ वर्षदेखि बत्ती नबल्नुको कारण के रहेछ भनेर त्यसको कारण खोज्ने प्रयास गरे अथकले । नरैनापुरमा जसरी पनि बिजुली पुर्‍याउने अठोट लिएका अथकले विभिन्न बाधा अवरोधलाई पन्छ्याउँदै २०७५ साउन १० गते बिजुलीको तार तान्नका लागि बाधक बनेका २१२ वटा रुख काट्ने निर्णय मन्त्रिपरिषदबाट पास गराए ।

सांसद अथकले आफै उर्जा मन्त्रालय गएर मन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको सहयोगमा वातावरणीय प्रभाव मूल्याङकन गराएपछि रुख काट्ने लगायतको काम अगाडि बढेको बताए । अथकका अनुसार कार्यकारी प्रमुख घिसिङले राप्ती क्षेत्रको विद्युतिकरणलाई उच्च प्रथमिकतामा राखेर २२ करोड बजेट बिनियोजन गरेको जानकारी दिए । उनले राप्ती क्षेत्रका साबिकको बैजापुरमा केही समस्या रहेपनि अन्य क्षेत्रमा कुनै समस्या नरहेको बताए ।

मन्त्रिपरिषद्बबाट रुख काट्ने निर्णय भएपनि साउनमा रुख काट्न नपाइने वन मन्त्रालयको नियम अनुसार कात्तिक महिनामा अथक स्वयम् गएर रुख काटेको अथकका स्वकीय सचिव दिलिप सोनीले जानकारी दिए ।  बाँकेको कोहलपुरस्थित सवस्टेशनदेखि राप्ती सोनारी गाउँपालिकाको धामपुरसम्मको क्षेत्रमा पर्ने साढे ५ किलोमिटर वन क्षेत्रमा पर्ने २ सय १२ वटा रुखहरु काट्नका लागि साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै लामो समयदेखि रोकिएको विद्युत लाइन विस्तारको काम अगाडि बढेको हो ।

कोहलपुरदेखि बैजापुरसम्म विद्युत सेवाका लागि राप्तीसोनारीको धामपुरमा ३३ केभी प्रसारण लाइन सव स्टेशन स्थापना गरिएको थियो । तर ठेकेदारले काम नै नगरेपछि पुनः नरैनापुरवासी र राप्तीसोनारीवासीका लागि घरमा बिजुली बाल्ने आशामा रोकावट आयो । तत्तपश्चात् अथकले विभिन्न सरोकारवाला निकायसँग पहल गरे । र नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयले पुरानो सम्झौता तोडेर नयाँ ठेक्का सम्झौता गरेको थियो । यतिमात्र नभएर विद्युतीकरणको ठेक्का पाएका ठेकेदार राजेन्द्र मिश्रले अनाधिकृतरुपमा ठेक्का रद्द गरिएको भन्दै अदालतमा मुद्दा दायरा गरेपछि केहि समय विद्युत विस्तारको काम रोकिएको थियो । अदालतले ठेक्का रद्ध गर्ने कार्यलाई बैधानिकता दिएसँगै विद्युतीकरणले तीव्रता पाएको थियो ।

विभिन्न अवरोध पार गर्दै राप्तीसोनारी र नरैनापुरमा बिजुली बत्ती लैजान सफल भएका छन् अथक । फलस्वरुप मंगलबार ती क्षेत्र बिजुलीको रोशनीसँगै झिलिमिली भएका छन् भने कोरोना कहरका बीच त्यहाँका जनतामा एक प्रकारको उत्सव छाएको स्थानीय भद्रबहादुर बोहोराले जानकारी दिए ।

यता अथकले राप्तीसोनारी र नरैनापुरको विद्युतीकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने माननीय उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन “अनन्त”, नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, डि.एम.डी. हरराज न्यौपाने, विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह, विद्युत प्राधिकरण नेपालगन्जका तत्कालीन क्षेत्रीय प्रमुख मनोज सिंह र हालका प्रमुख मुनिन्द्र ठाकुरको उल्लेख्य भूमिका रहेको बताएका छन् ।

Womui
Womui