‘स्वास्थ्यकर्मीको निर्देशन पालना गरे कोरोनालाई सहजै परारस्त गर्न सकिन्छ’

243

बाँकेको नरैनापुर गाउँपालिकामा ५ नम्बर प्रदेशको सबैभन्दा बढी कोरोना संक्रमित भएको गाउँपालिकामा पर्छ । नरैनापुरमा मात्र ११३ जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । नरैनापुरको क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितलाई लिन गएको एम्बुलेन्सलाई स्थानीयले घेराउ गरेर कोरोना संक्रमितलाई भगाएका छन् । गाउँपालिकामा व्याप्त अन्धविश्वासका कारण पनि यस्तो भएको जानकारहरु बताउँछन् । स्थानीय प्रशासनले नरैनापुरको चारै नाका सिल गरेको छ । यस्तो अवस्थामा त्यहाँका स्वास्थ्यकर्मी भने जोखिम मोलेर दिनरात क्वारेन्टाइनमा बसेकाको सेवामा तत्पर देखिन्छन् । जनताकै सेवा गर्ने क्रममा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको जोखिम भए पनि सेवालाई अग्रभागमा राखेर स्वास्थ्यकर्मीहरु लागिपरेका छन् । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँसँग कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य शाखाले चालेको कदमबारे छिनछिन खबरका लागि रमण ओलीले गरेको कुराकानी ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँ ।

पछिल्लो समय कोरोना संक्रमतिका बिरामीलाई लिन गएको एम्बुलेन्स स्थानीयले घेराउ गरेर क्वारेन्टाइनमा बसेकालाई आफूसँगै भगाएर लैजाने खालको अमानवीय कार्य त्यहाँ भएको छ । यस्तो अवस्थामा स्वास्थ्य सम्बन्धी जनचेतना कसरी फैलाइरहनु भएको छ ?
हामीले सुरुवाती क्षणबाटै कोरोना भाइरसबारे जनचेतना फैलाइरहेका छौं । पोस्टर पम्पलेट छपाइ गरेर घरघरमा बाँडेर जनचेतना फैलायौं । माइकिङ गरेका थियौं । लकडाउनपछि पनि हामीले साबुन पानीले हात धुनेलगायत कोरोना भाइरसबाट बच्ने उपायबारे जनचेतना फैलाउँदै गाउँगाउँ परिक्रमा गरेका थियौं । त्यस्तै बाहिरबाट आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गर्‍यौं । यी सबै आवश्यक जनचेतना फैलाउने काम भए पनि हिजो (शुक्रबार) राति क्वारेन्टाइनमा बसेकालाई आइसोसेलनमा लैजाने भन्दै आएको गाडीलाई अवरोध पुर्‍याउने कार्य भयो । जुन अत्यन्तै लज्जास्पद कार्य हो । कुन समूहले त्यस्तो गर्‍यो आश्चर्य लाग्छ । तापनि हामीले तदारुकतासाथ त्यस्तो गर्नु हुँदैन भनेर गाउँवासीमा जनचेतना फैलाउने काम गरिरहेका छौं । आइसोलेसनमा गए कोरोना संक्रमण निको हुन्छ भनेर क्वारेन्टाइनमा बसेकालाई सम्झाउने काम गरेका छौं । र, अन्यत्रका क्वारेन्टाइनमा बस्नेलाई पनि उपचार नगराएसम्म कोरोना रोग सन्चो हुँदैन भनेर जनचेतना फैलाइरहेका छौं ।

कोरोना भाइरसका संक्रमित नरैनापुरमा अत्यधिक छन् । यस्तो अवस्थामा कसरी काम गरिरहनु भएको छ ?
कोरोना भाइरसका संक्रमित धेरै भएकाले यहाँ डरको माहोल बनेको छ । ता पनि हामीसँग भएको स्वास्थ्य सामग्रीको उपयोग गरेर स्वास्थ्यकर्मीहरुले उच्च सतर्कता अपनाउँदै काम गरिरहनु भएको छ । उहाँहरुले जोखिम मोलेरै भएपनि रातदिन खटेर जनताको सेवा गरिरहनु भएको छ । सेवालाई पहिलो स्थानमा राखेर दिनरात नभनी स्वास्थ्यकर्मीहरु लागि पर्नु भएको छ । जनताको सेवा गर्ने क्रममा दुईजना स्वास्थ्यकर्मीसमेत कोरोनाको जोखिममा पर्नु भयो । उहाँहरु अहिले हाम्रै निगरानीमा होम क्वारेन्टाइनमा हुनुहुन्छ । त्यसैले स्वास्थ्यकर्मीको कामको तारिफ शब्दले गर्न सकिँदैन । साँच्चै भन्नुपर्दा नरैनापुरमा खटिनु भएका स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहनु भएको छ ।

स्वास्थ्यका कर्मचारीले क्वारेन्टाइनमा त्यति ध्यान दिएनन् भन्ने स्थानीयको गुनासो गरिरहेका छन् नि ?
त्यो गुनासो एकदमै गलत हो । क्वारेन्टाइनमा बसेकाको चेकजाँच गर्ने काम उहाँहरुको हो जुन उहाँहरुले गरिनै रहनु भएको छ । त्यसमा कुनै कमिकमजोरी छैन । जसले जति काम गर्न सक्छ त्यसले त्यतिनै काम गरिरहेका छन् । नर्स वा अहेबले डाक्टरको काम गर्न सक्ने कुरा आएन र गर्नु पनि हुँदैन त्यसैले स्थानीयलाई यथार्थता नबुझी अफवाह नफैलाउन आग्रह गर्दछु । साथै कुनै कमिकमजोरी भए सम्पर्क गर्न आह्वान गर्दछु ।

नरैनापुरमा स्वास्थ्य सम्बन्धी चेतनास्तर कम देखियो । राम्रोसँग जनचेतना नफैलाइएको हो र ?
जनचेतनाको लागि हामीले सुरुदेखि नै प्रयास गरे पनि कोरोना भारइसको जोखिमलाई हल्का रुपमा लिएकाले यहाँ समस्या आएको हो । हामीले कोरोना भाइरस रोकथामका लागि सुरुवाती चरणबाटै तीव्ररुपमा यसबाट बच्ने र बचाउने उपायबारे विभिन्न माध्यमबाट सूचना प्रवाह गरिरहेका छौं । हामीहरुले रोग लागिसकेपछि त्यहाँका जनतालाई नै सर्ने हो भनेर बारम्बार भनिरहेका छौं । रोग लागिसकेपछि सतर्कता अपनाएर रोगको उपचार गराउनु पर्छ भनेर सुरुवाती क्षणदेखि नै सम्झाइ बुझाइरहेका छौं ।

गाउँपालिकावासीलाई के भन्नु हुन्छ ?
तपाइँको अनलाइन पत्रिकामार्फत् गाउँपालिकावासीलाई म अनुरोध गर्दछु कि कोरोना रोग महामारीको रोग हो । यो एकबाट अर्कोमा सर्ने रोग हो । रोग लागेका व्यक्तिको सम्पर्कमा आएपछि सर्ने रोग भएकाले उनीहरुको सम्पर्कमा आउँदा आफू सुरक्षित भएर सम्पर्कमा आउनुहोस् । साथै लकडाउनका पूर्ण पालना गर्नुहोस् । अत्यावश्यकबाहेक बाहिर ननिस्कौं । कदमकदापित सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै कोरोना भाइरस लागि हाले आत्तिनु पर्दैन । किन भने हिजो मात्रै बाँकेका २१ जनाले कोरोनालाई जितेर घर फर्कनु भएको छ । त्यसैले रोग लागेपछि उपचारमा गए अवश्य निको हुन्छ । उपचारमा नगए रोग बल्झेर सम्पर्कमा आएका सबैलाई सर्न सक्छ भन्दै स्वास्थ्यकर्मीले दिएको निर्देशन पालना गरे हामीले कोरोना भाइरसलाई सहजै परारस्त गर्न सक्ने कुरा अवगत गराउन चाहन्छु ।

Womui
Womui