राप्तीसोनारीको क्वारेन्टाइनमा बसेका १५ जनाको रिपोर्ट ‘नेगेटिभ’

103

बाँके(राप्तीसोनरी), बैशाख १-
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थित आश्रय भवनको क्वारेन्टाइनमा बसेका सबैको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । राप्तीसोनारी गाउँपालिका, स्वास्थ्य शाखाको समन्वयमा बैजापुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सोमबार र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट त्यहाँ रहेका १५ जनाको जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको हो । सबैको रिपोर्ट नेगेटिभ आएपछि १५ जनालाई घरमा पठाइएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । ‘क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आयो, त्यसपछि प्रमुख जिल्ला अधिकारी ज्युसँग सल्लाह गरेर उनीहरुलाई घर पठाइयो,’ उनले भने ।

 


राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ खैरेनीमा रहेको क्वारेन्टाइनमा आरडिटी किटबाट कोरोना जाँच गरिदै । तस्बिर सौजन्य : राप्तीसोनारी गाउँपालिका

गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरी उनीहरुलाई करिव एक हप्ता जति राखेको थियो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना, बाँके निवासी उनीहरु गत चैत ११ गते गौरिफन्टा नाकाबाट नेपाल प्रवेश गरी १२ गते घर पुगेका थिए । घरमा बसिरहेपनि उनीहरुको स्वास्थ्यमा कुनै लक्षण भने देखिएको थिएन । तरपनि भारतबाट फर्केका ब्यक्तिमा कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले रिपोर्ट नेगेटिभ आएपनि उनीहरुले एक हप्तासम्म घरमा सुरक्षा सर्तकता अपनाउनुपर्ने बताए । ‘क्वारेन्टाइमा रिपोर्ट नेगेटिभ आएपनि नियम अनुसार एक हप्ताजति घरमा सुरक्षित भएर बस्नुपर्छ,’ बस्नेतले भने । राप्तीसोनारीभित्र रहेका सबै क्वारेन्टाइनमा क्रमिक रुपले आरडिटी किटबाट जाँच गरिने उनको भनाई छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ खैरेनीमा रहेको क्वारेन्टाइन ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले आरडिटी किटबाट जाँच गर्दा सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको बताए । क्वारेन्टाइनबाट बिदाई गरेपनि उनीहरुलाई एक हप्ता घरमा अलग्गै सुरक्षित भएर बस्न सल्लाह दिएको उनले प्रष्ट्याए । ‘उनीहरु नेपाल प्रवेश गरेको १९दिन पुगिसकेको थियो, अब धेरै दिन किन राख्ने भनेर आरडिटी किटबाट कोरोना जाँच गर्यौं, जाँच गर्दा सबै रिपोर्ट नेगेटिभ आयो,’ स्वास्थ्य शाखा प्रमुख चुडालीले भने ‘एक हप्ता घरमा सुरक्षित हिसाबले बस्न उनीहरुलाई कागज पनि गराएका छौं ।’ राप्तीसोनारीको फत्तेपुरमा रहेको क्वारेन्टाइनमा बुधबारसम्म आरडिटी जाँच हुने उनले जानकारी दिए । जाँच गर्न किट अभाव रहेको उनको भनाई छ ।

बैजापुर स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि चौधरीले आरडिटी किटबाट कोरोना भाइरस जाँच गर्न स्वास्थ्य चौकीसँग तालिम प्राप्त जनशक्ति उपलब्ध हुँदा सहज भएको बताए । ‘हाम्रै स्वास्थ्य चौकीका ल्याब टेक्नििसियनले केहीदिन अघि आरडिटी जाँच सम्बन्धी तालिम लिनु भएको थियो, उहाँले किट ल्याएर आएको हुँदा जाँच्न सहज भयो,’ उनले भने । परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिका अध्यक्ष, स्वास्थ्य शाखा, सम्बन्धित वडाका जनप्रतिनिधीको सल्लाह अनुसार उनीहरुलाई एम्बुलेन्सको ब्यवस्था गरेर घरसम्म पठाउने ब्यवस्था मिलाइएको बताए । सो क्रममा वडा नम्बर ३ का वडा अध्यक्ष गंगाराम थारु र वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारुको पनि उपस्थिती रहेको जानकारी दिए । जिल्ला स्वास्थ्य प्रमुख धिरजंग शाहका अनुसार आरडिटी किट जिल्लामा अहिले करिव ५ सय थान मात्र आएको छ । पहिलो चरणमा क्वारेन्टाइमा बसेका ब्यक्तिको मात्र टेष्ट गर्ने सरकारको रणनीति छ । क्वारेन्टाइनमा १४ दिन बसिसकेका ब्यक्तिको मात्र आरडिटी किटबाट कोरोना भाइरस जाँच गरिन्छ ।

Womui
Womui