नौ महिना जेल बसेपछि ‘निर्दोष’ सावित

26

छिनछिन खबर
काठमाडौं– कसूरअनुसार सजाय भोग्नु त कानुनी शासनको नियम नै हो। तर, कसूरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा ।

२०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलात्कारको आरोपमा उहाँविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्दा दर्ता गराइन् । त्यसको १४ दिनपछि कात्तिक २७ गते प्रहरीले पाख्रिनलाई जावलाखेलको एक रेस्टुरेन्टबाट पक्रियो ।

तत्कालीन प्रहरी नायक उपरीक्षक नारायण चिमौरियाको निर्देशनमा खटिएको प्रहरी टोलीले बलात्कार आरोपमा ती महिलाले दिएको जाहेरी पढेर सुनाएपछि उनलाई छाँगाबाट खसेजस्तै भयो । जाहेरीमा २०७५ असोज १ गते साढे दुई बजे ललितपुर महानगरपालिकाको ज्वागल हुँदै कुसुन्ती जाने क्रममा पाख्रिनले स्कारपियोमा राखेर कुसुन्ती पुर्याइदिने भन्दै कुपण्डोलस्थित कार्यालयमा लगी करणी गरेको आरोप लगाइएको थियो ।

उनले करणीको भिडियोसमेत बनाएको किटानी जाहेरी दिएकी थिइन् । त्यति मात्र हैन उनले पछि पनि पटक–पटक र अन्तिमपटक असोज ६ गते बलात्कार गरेको दोष लगाएकी थिइन् । पाख्रिनले आरोपी महिलालाई नचिनेको दाबी गरे पनि प्रहरीले छोडेन । बरु थुनामै राखेर पाटन अस्पतालमा उहाँ र महिलाको स्वास्थ्य परीक्षण गरायो ।

तर, विशेषज्ञ डा. सिर्जना कुँवरको टोलीले जाहेरीवालाको शरीरमा आलो घाउ वा चोटपटक नदेखिएको, अवस्था सामान्य भएको र घटना भएको मितिले एक महिना पछाडी शारीरिक सम्पर्क राख्दा कुनै संकेत नभेटिने हुँदा घटना घटे वा नघटेको भन्न नसकिने भनी रिपोर्ट दियो । दोषी देखिने आधार फेला नपरे पनि उनलाई पुर्पक्षका लागि २४ दिन जेल चलान गरिएको थियो । पाख्रिनले कानुनी उपचार खोजिरहे ।

एकातिर डा. सिर्जनाको उक्त रिपोर्ट जिल्ला अदालत पाटनमा पेस भयो भने अर्को्तिर पाख्रिनका चालक जय खड्काले आरोप लगाइएको दिन पाख्रिन दिनभर कार्यालय नै नगएको बयान अदालतमा दिए । अन्ततः २०७६ असार २४ गते जिल्ला अदालत पाटनले पाख्रिन निर्दोष भएको फैसला सुनायो । उक्त फैसलामा अदालतले जाहेरी दिने पीडितको विवेचित तथ्य र प्रमाणलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा जाहेरवालाको कथनबाहेक जबरजस्ती करणीको वारदाता भएको तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ प्रमाण नरहेको उल्लेख गरिएको थियो ।

ती महिलाले १ गते पश्चात ६÷७ दिनपछि फोन गरेर बोलाइएको भन्ने बकपत्र अदालतमा दिएकी थिइन् । तर अदालतले प्रहरी र अदालतलाई दिएको बयान र बकपत्र फरक–फरक परेको, जाहेरवालाले उल्लेख गरेको र अभियोगपत्रमा दावी गरिएको भिडियो अस्तित्वमा रहेको तथ्य अभियोजन पक्षले पुष्टि गर्न नसकेको र ती महिला र पाख्रिनको कल डिटेल रेकर्डलगायत मिसिलमा संलग्न प्रमाणबाट जाहेरवाला र प्रतिवादीबीच उल्लिखित नम्बरमा सम्पर्क एवं संवाद नभएको ठहरसहित फैसला गरिदियो ।

जिल्ला अदालत पाटनका न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले गरेको उक्त फैसलाको बुँदा नम्बर ४२ मा ती महिलाको जाहेरीमा उल्लिखित ब्यहोरा, प्रहरीलाई दिएको बयानको कागज र अदालतमाा गरेको बकपत्रमा लेखाएको ब्यहोरासमेत आपसमा संगतयुक्त नदिएको उल्लेख छ ।
मिसिल संलग्न प्रमाणबाट निजको भनाइ समर्थित हुनआएको देखिएन, फैसलामा भनिएको छ, ‘जबर्जस्ती करणीको वारदात भएको अभियोगवादी वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको प्रस्तुत मुद्दामा तथ्यसंग असंगत र संशययुक्त जाहेरवालाको कथनका आधारमा प्रतिवादीलाई कसुरदार ठहराउन मिलेन, अतः प्रस्तुत मुद्दामा प्रतिवादीले आरोपित कसुरवादीबाट सफाइ पाउने ठहर्छ ।’

पाख्रिनले भने, ‘निर्दोष भएर पनि जेलमा बस्नुपर्दाको पीडा अरू के हुनसक्छ र ?’ तर आफूले न्याय पाउने आत्मविश्वास भए पनि जबरजस्ती जेल पठाइँदा निकै दुःख लागेको बताए । ‘२४ दिन कस्टडी र आठ महिना नख्खु कारागार बस्नुपरेको दुखेसो गर्दै उनले थपे, ‘अरूलाई यस्तो नहोस् ।’

श्यामसुन्दरको करामत
२०६८ सालमा तत्कालीन उद्योग तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तालाई जिल्ला अदालत काठमाडौंले अपहरण तथा शरीर बन्धक मूद्दामा ७ वर्ष कैद सजाय सुनाएको थियो। साढे तीन बर्ष कैद छुट भई उनी ०७२ साउन ४ गते जेलबाट छुटेका थिए । गुप्ता जेल परेपछि उनका छोराहरू राकेशकुमार गुप्ता, भास्कर गुप्ता र सुधिरकुमार गुप्ताले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ मिलनचोकस्थित २१ धुरमा बनेको कित्तानम्बर १६ को साढे दुई तलाको घर बेच्ने निर्णय लिएका थिए ।

घरजग्गा व्यावसायी पाख्रिनले चिनजान भएका दमन बस्नेतमार्फत श्यामसुन्दरका छोराहरूको नामको घर २०७२ वैशाख २८ गते जिल्ला मालपोत कार्यालय रुपन्देहीमा २ करोड २५ लाखमा पास गरेका थिए । तर श्यामसुन्दरले जेलबाट छुटेपछि उक्त घर पुरानै मूल्यमा फिर्ता गर्नुपर्ने दबाब दिँदै मार्ने र परिवारका सदस्य अपहरण गर्ने धम्की दिएका थिए ।

करिब तीन वर्षसम्म सफल हुन नसकेपछि पाख्रिनलाई घर किनाइदिने दमन वस्नेतको सहयोगमा श्यामसुन्दरले नक्कली महिला खडा गराई प्रहरीमा जाहेरी दिन लगाएका थिए । पछि श्यासुन्दरले निकट साथीसँग पाख्रिनलाई आफूले जेल पठाएको भनी दिएको अभिव्यक्तिसहितको अडियो सार्वजनिक भएपछि त्यसैलाई आधार बनाएर पाटन अदालतले उक्त आरोप पुष्टि नभएकाले पाख्रिन निर्दोष भएको फैसला सुनाएको हो । उता श्यामसुन्दर जिल्ला अदालत काठमाडौंको आदेशमा छुटे पनि ०७६ भदौ १२ गते उच्च अदालत ललितपुरले पुनः १० वर्ष जेल बस्नुपर्ने फैसला सुनाएपछि उनी फरार छन् । नेपाल समाचारपत्रबाट

Womui
Womui