आक्रमणमा संलग्न भएको अभियोगमा नेकपाका १० जनाविरुद्ध किटानी जाहेरी

578

नेपालगन्ज, भदौं २७-
नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण कार्यक्रममा प्रवेश गरी आक्रमणमा संलग्न रहेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १० जनाविरुद्ध शुक्रबार किटानी जाहेरी दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा कांग्रेसका जिल्ला सदस्य सुधान्सु कोईरालाले ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ । कांग्रेसको राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेको समयमा बिहीबार दिउँसो खजुरा गाउँपालिका–२ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताले नेपाली कांग्रेसका सभापति किरण कोईरालाको हात भाँचिदिएका थिए ।  सो क्रममा कोईरालासहित दर्जनौं नेता तथा कार्यकर्तामाथी पनि घाईते भएका थिए ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा खजुरा–१ राधापुर का ३८ बर्षिय सुमन मल्ल, सोही ठाउँका ३२ बर्षिय लोके भन्ने लोकबहादुर शाही, ३८ वर्षय निर्मल खत्री, ३२ बर्षका रोशनसिंह ठकुरी, २८ बर्षिय दिपु भन्ने दिपबहादुर राना, खजुरा–२ सितापुर निवासी ३८ बर्षिय मुमबहादुर ओली, सोही ठाउँका ४१ बर्षिय पारस मल्ल, ३५ बर्षिय सुनिल भन्ने इन्द्रबहादुर खत्री, ४० बर्षिय ललित चन्द र ३७ बर्षिय हेमन्त थापाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको हो । खजुरा गाउँपालिका वडा नम्बर १ का सुमन मल्लको नेतृत्व तथा निर्देशनमा आक्रमण गरिएको र कार्यक्रम स्थलमा हात हतियारसहित प्रवेश गरी ‘यो हाम्रो ठाउँ हो, यहाँ कुनैपनि पार्टी, ब्यक्ति वा संस्थाले कुनै कार्यक्रम गर्न पाईदैन’ भन्दै नेकपाका कार्यकर्ता आक्रमणमा उत्रिएको जाहेरीमा उल्लेख छ ।

सुनियोजित तबरबाट निजहरुले ज्यानै मार्ने सहितको नियत राखी आक्रमण गरेको भन्दै उनीहरु विरुद्ध आवश्यक अनुसन्धान गरी मुलुकी फौजदारी संहिता २०७४ को दफा १८३ समेतको आधारमा ज्यान मार्ने उद्योगमा हदैसम्मको कैद तथा जरिवाना गर्न माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक(डिएसपी) शिव सिंहले जाहेरी दर्ता भएको पुष्टी गरे । तर, नाम भन्न नमिल्ने उनले बताए । उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ‘लोके’ भन्ने लोकबहादुर शाही, निर्मल खत्री, रोशनसिंह ठकुरीलाई पक्राउ गरिसकेको छ ।

Womui
Womui