विप्लव नेकपाका नेता हेमन्त ओलीमाथि अर्को मुद्दा, वार्तामा कस्तो असर पर्ला ?

67

छिनछिन खबर
काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य हेमन्त प्रकाश ओलीमाथि अर्को मुद्दा पनि लगाइएको छ ।
ललितपुरस्थित नख्खु कारागारको थुनामा रहेका ओलीमाथि राज्यविरुद्धको अपराधमा अर्को मुद्दा चलाइएको छ ।

गत जेठ १२ गते काठमाडौको सुकेधारामा भएको बम विस्फोटको घटनामा ओलीलाई जोड्दै प्रहरीले मुद्दा चलाएको हो । त्यसबेला उनी नख्खु कारागारमै थिए । कारागारमा भए पनि उक्त घटनामा उनको अप्रत्यक्ष संलग्नता हुन सक्ने भन्दै उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको हो ।

त्यस्तै बसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा गत फागुन २४ गते भएको बम विस्फोटको घटनमा पनि ओलीलाई जोड्दै प्रहरीले मुद्दा दायर गरेको छ । सोही घटनामाथि अनुसन्धान गर्न बयानका लागि उनलाई महानगरीय प्रहरी वृत महाराजगन्जको हिरासतमा लगिएको छ । पछिल्लो समय विप्लव नेकपासँग सकारात्मक वार्ताको चर्चा चलिरहेको बेला ओलीमाथि अर्को मुद्दा लगाउन खोजिएपछि वार्तामा कस्तो असर पर्ला भन्ने चर्चा चलेको छ ।

ओलीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत चैत ९ गते काभ्रेको दुर्गम गाउँबाट पक्राउ गरेको थियो । नख्खुस्थित एनसेलको कार्यालयअगाडि गत फागुन १० गते भएको बम विस्फोटको घटनामा संलग्न भएको भन्दै उनीमाथि श्यामप्रसाद गुरुङले जाहेरी दिएका थिए । श्यामप्रसादका भाइ सिंहप्रसाद गुरुङले सोही विस्फोटमा परी ज्यान गुमाएका थिए ।

Womui
Womui