बैजनाथको ५८ करोड बजेट प्रस्तुत, छलफल गरेर पारित गरिने

149

( बाँके ) बनकटुवा, असार १०-
बाँकेको बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमसहित ५८ करोड १० लाख ५९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्माले उक्त बजेट प्रस्तुत गरिन् । आगामी वर्ष २०७६/७७ का लागी गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल (ठकुरी) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन, शिक्षा स्वास्थ्य, राष्ट्रिय गौरबका योजना, औद्यौगिक विकास तथा रोजगारीको अवसर लगायतका भौतिक पूर्वाधारको विकास गर्ने नीति अवलम्वन गरेको छ ।

यस्तै जनताका आकांक्षा, आवश्यकता तथा आवाजमा आधारित वैज्ञानिक योजना निर्माण तथा कार्यान्वयन, खाद्य सम्प्रभुता, खाद्य र पोषण सुरक्षाको प्रत्यभूति, शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन, भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रको विकासको तीव्र अभियानसहित उत्पादन र उत्पादकत्वमा जोड दिइने नीतिमा उल्लेख गरिएको छ । प्राकृतिक स्रोतको न्यायोचित वितरण, जनताको अनिवार्य सहभागितामा लगानी र उत्पादनको वातावरण निर्माण, प्राकृतिक स्रोत तथा उत्पादनका साधनहरूमा जनताको स्वामित्व, जनतालाई कानूनी तथा प्रशासनिक शीघ्र सेवा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसैगरी समावेशिताका लागी विभिन्न लक्षित कार्यक्रमलाई समेटिने गरि बालबालिका, युवा, दलित, अपांगता, आदीवासी जनजाती, लोपोन्मुख जाती, जेष्ठ नागरिक, अल्पसंख्यक लगायतका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ । गाउँपालिका उपाध्यक्ष विश्वकर्माले प्रस्तुत बजेटमाथी छलफल गरी पारित गरिने बताईन् ।

Womui
Womui