धमाधम ‘स्मार्ट कृषि गाउँ’ घोषणा गर्दै प्रदेश सरकार

131

नेपालगन्ज, फागुन १७-
प्रदेश पाँच सरकारले धमाधम ‘स्मार्ट कृषि गाउँ’ घोषणा गर्न थालेको छ । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरको कर्मोहनालाई स्मार्ट कृषि गाउँ बनाइने भएको हो । बाँकेमा ६ वटा स्मार्ट कृषि गाउँ बनाउने अभियान अन्तर्गत नेपालगन्जको कर्मोहनालाई स्मार्ट कृषि गाउँ बनाउन लागिएको बताइएको छ । प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमकाबीच स्मार्ट कृषि गाउँ बनाउने घोषणा सहित शुभारम्भ गरेकी हुन् ।

प्रमुख बालीका रुपमा बसन्ते मकै र तरकारी खेतीलाई प्राथमिकता दिइएको छ । उक्त गाउँले प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त गर्नेछ, भने स्थानिय किसानले १० लाख लगानी गर्नुपर्नेछ । स्मार्ट कृषि गाउँमा जमिन बाँझो राख्न नपाइने मन्त्री पौडेलले बताईन् । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्मार्ट कृषि गाउँ निर्माणका लागी दुई जना प्राविधिक खटाइने जानकारी दिइन । स्मार्ट सिँचाइ, स्मार्ट बजार, स्मार्ट प्रविधी, स्मार्ट खाद्य व्यवस्थापन लगायत समेटेर गाउँलाई नै कृषिमा स्मार्ट बनाइने मन्त्रालयको योजना रहेको मन्त्री पौडेलले बताईन् । बाँके र बर्दियामा मात्रै १० वटा स्मार्ट कृषि गाउँ बनाउने गरी काम तिब्र रुपमा अगाडी बढाइएको र हाल सम्म कर्मोहना समेत गरी ६ वटा गाउँको शुभारम्भ समेत गरीसकिएको ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए ।

कर्मोहनाको स्मार्ट कृषि गाउँमा प्रमुख बालीका रुपमा बसन्ते मकै र तरकारी खेती गरिनेछ । ५७ विगाह क्षेत्रफल रहने गाउँमा ७० घरधुरी किसानले सेवा लिन पाउने छन् । स्मार्ट कृषि गाउँमा तीन सिजनमा नै खेती गरिने भएको छ । स्मार्ट कृषि गाउँ शुभारम्भ समारोहमा प्रदेश नम्बर ५ का सांसद सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला लगायतले बोलेका थिए ।

Womui
Womui