साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्दै

42

एजेन्सी
इस्लामाबाद– साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर संकट व्यहोर्दै आएको छ ।

पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ । साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै आलोचित हुनुभएका राजकुमार सल्मान एसियाका तीन मुलुकको भ्रमणको सिलसिलामा पाकिस्तान आइपुग्नु भएको हो । पाकिस्तानमा राजकुमार सल्मानलाई भव्य स्वागत गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबियाले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि राजकुमार सल्मान र साउदी सरकारप्रति आभार प्रकट गरे । ‘पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्ध अझ नयाँ उचाईमा पुगेको छ,’ उनले भने । खानले प्रधानमन्त्री भएपछि यसअघि दुई पटक साउदी अरेबियाको भ्रमण गरिसकेका छन् । साउदी राजकुमार इस्लामाबाद नजिकैको सैनिक अड्डामा आइपुग्नुहुँदा २१ तोपको सलामी दिइनुका साथै प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले राजकुमारलाई स्वागत गरेका थिए ।

राजकुमार सल्मानको भ्रमण भारत र इरान दुबै मुलुकमा तनाबको वातावरण रहेकै समयमा भएको छ । भारतको काश्मिरमा भएको आक्रमण तथा इरानमा भएको अर्को आत्मघाती आक्रमणमा पाकिस्तानको समर्थन रहेको इरान र भारतले दाबी गरिरहेका छन् । पाकिस्तानले भारतको आरोपको खण्डन गरिसकेको छ ।

Womui
Womui