बिहे गर्ने उमेर पुग्दैछ, सम्बन्धविच्छेद भइसक्यो

96

तेह्रथुम– लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बूसँग २०६८ मा विवाह गरे । त्यतिबेला चन्द्रा १५ र मनकुमार १७ वर्षका मात्रै थिए । विवाहपछिका तीन वर्षसम्म त उनीहरुको सम्बन्ध ठीकै थियो । त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालतले २१ फागुन २०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला ग¥यो । कलिलैमा बिहे गरेका २१ वर्षीया चन्द्रा र २३ वर्षीय मनकुमार अहिले अलग–अलग छन् ।


चन्द्राको जस्तै कथा छ, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का २३ वर्षीया पासाङ शेर्पाको पनि । उनले पनि पढ्दै गर्दा १५ वर्षको उमेरमै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–४ का नविन शेर्पासँग २०६७ मा विवाह गरेकी थिइन् तर समय सधैं एकनास रहेन । विवाहअघि गरेका वाचा बिहेपछि रहेनन् । अन्ततः उनीहरुको पनि २ फागुन २०७४ मा जिल्ला अदालत तेह्रथुमबाटै सम्बन्धविच्छेदको फैसला भयो । धनकुटाकै महालक्ष्मी नगरपालिका–५ की बबिता बस्नेतले पनि १७ वर्षको उमेरमा तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का युवराज बस्नेतसँग २०७२ मा बिहे गरिन् । उनीहरुको पनि सम्बन्ध धेरै समय टिक्न सकेन । जिल्ला अदालतले १० माघ २०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला गरेको थियो ।

जिल्लामा विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि बिहे गर्ने उमेर हुँदै गर्दा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला अदालतमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढ्दै गएको र यसरी मुद्दा गर्ने महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष छ । सम्बन्धविच्छेदका लागि आउने अधिकांशको प्रेम विवाह भएको पाइन्छ, त्यसमध्ये पनि फोन सम्वाद, सामाजिक सञ्जाल र कम चिनजानकै आधारमा भएका विवाह बढी हुन्छन् ।

जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्ला चार वर्षमा १२३ जोडीले सम्बन्धविच्छेद गरेकामा आव २०७४र०७५ मा मात्रै जिल्लाका ४१ जोडी पुगेका छन् । तीमध्ये आधाभन्दा बढी जोडीको विवाह कम उमेरमै भएको र पछि सम्बन्धमा दरार आएको पाइएको छ । सो समय सम्बन्धविच्छेद गर्ने ४१ जोडीमध्ये १८–२५ वर्षका पुरुष पाँच र महिला ११ रहेका श्रेष्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिनुभयो । २५–३० उमेर समूहका छ महिला र पुरुष सात छन् । यस्तै ३१–४० वर्ष उमेर समूहका महिला ११ र पुरुष १२ छन् । सम्बन्धविच्छेद गर्ने जोडीमध्ये ४० माथिका महिला दुई र पुरुष पाँच रहेका जानकारी दिँदै श्रेष्तेदार दाहालले भने, ‘सम्बन्धविच्छेदका मुद्दा यसअघि महिलाले मात्रै दर्ता गर्न पाउँथे, पछिल्लो वर्ष फैसला भएका ४१ जोडीमध्ये १८ देखि ३० वर्षका महिलाको सङ्ख्या १७ छ ।’

कानुनले सम्बन्धविच्छेदका लागि दर्ता भएका मुद्दामा बालविवाह ठहर नगरे पनि सम्बन्धविच्छेदका लागि आउनेमध्ये अधिकांश कलिलैमा बिहे गर्ने, भागेर प्रेम विवाह गर्ने र सामाजिक सञ्जालमार्फत चिनजान भएर लोभ लालचमा बिहे गर्ने बढी भएको सुनाए । ‘सम्बन्धविच्छेदका लागि आउने अधिकांशको प्रेम विवाह भएको पाइन्छ,’ श्रेष्तेदार दाहालले भने, ‘त्यसमध्ये पनि फोन सम्वाद, सामाजिक सञ्जाल र कम चिनजानकै आधारमा भएका विवाह बढी हुन्छन् ।’अदालतको तथ्याङ्कमा उल्लेख भएअनुसार आव २०७३÷०७४ मा पनि १९ जोडीको सम्बन्धविच्छेद भएको थियो । जिल्लामा आव २०७२÷०७३ मा ३६ जनाले सम्बन्धविच्छेद गराएका थिए भने आव २०७१÷०७२ मा त्यसो गर्ने २९ जोडी थिए । जिल्ला अदालतमा पछिल्ला वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् ।

साधारणतया श्रीमान् श्रीमतीबीच हुने कुटपिट, झै–झगडा, यौन हिंसालगायत घरेलु हिंसाका विषयलाई लिएर महिलाले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको श्रेष्तेदार दाहालले जानकारी दिए ।सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एक–अर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पुर्याउने गरेको छ । विद्यालय तहमा पढ्दा–पढ्दै विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा सम्बन्धमा खटपट सिर्जना भई बिच्छेद हुने गरेको अधिवक्ता नारायण लुइँटेलको भनाइ छ ।
कानुनले बाल विवाहलाई अपराध माने पनि युवा युवतीले परिवारलाई थाहै नदिई १५–१७ वर्षको उमेरमै विवाह गर्ने गरेका हुन् । त्यस्ता विवाहविरुद्ध अहिलेसम्म जिल्लामा कुनै उजुरी परेको छैन । अभिभावककै सहमतिमा हुने विवाहमा समेत उजुरी नपर्ने गरेकाले प्रहरी र अदालतको तथ्याङ्कमा बाल विवाह नदेखिए पनि गाउँ समाजमा बाल विवाह छ्याप्छ्याप्ती भएको पाइन्छ । हालै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर अझै बढाएर महिला पुरुष दुवैलाई २० वर्षको हद तोकेको छ तर अघिल्लो कानुनी व्यवस्थासमेत कार्यान्वयन नभएको अवस्थामा अहिलेको कानूनी व्यवस्था हुबहु कार्यान्वयन हुन कठिन देखिएको छ । कानुन कार्यान्वयनमा भन्दा बढी पहिले कानुनी सचेतना वृद्धिका लागि सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको सरोकारवाला बताउँछन् । सानै उमेरमा आमा बन्दा शारीरिक रुपमा कमजोर बन्ने र स्वास्थ्यमा दीर्घकालीन असर पर्नाका साथै शारीरिक परिपक्वता नभई किशोरीले शिशु जन्माउँदा शिशुमा कुपोषण र आमाको पाठेघर खस्नेलगायत समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।
रासस

Womui
Womui