नेपालमा ७२ देशका कामदार, दुईतिहाइभन्दा बढी चिनियाँ

179

प्रशिद्धिका खड्का
काठमाडौं, मंसिर १७ । देशभित्र रोजगार सृजना गर्न नसकेपछि सरकारले वैदेशिक रोजगारमा जान चाहने नेपालीको लागि विश्वका एक सय १० देश खुला गरेको छ । श्रम स्वीकृति लिनेको संख्या भने ४५ लाख जति छ । तीमध्ये संस्थागत रुपमा जानको लागि खुला गरेका देशमा अहिले करिब २५ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।


नेपालबाट ठूलो संख्यामा युवा विदेश पसिरहेको बेला नेपालमा पछिल्लो १६ महिनामा मात्र विश्वका ७२ देशका नागरिक रोजगारको लागि आएका छन् । जो अहिले नेपालमा कार्यरत छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अहिले ७२ देशका ३ हजार १ सय ६४ जना विदेशी कामदार श्रम स्वीकृति लिएर वैधानिक तरिकाले काम गरिरहेका छन् । श्रम स्वीकृति नलिई काम गर्ने विदेशीको संख्या योभन्दा ठूलो छ । काठमाडौंमा रहेका विभिन्न देशका कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई यसमा समेटिएको छैन ।

‘नेपालमा सञ्चालित जलविद्युत् लगायतका ठूला परियोजनामा काम गर्नको लागि श्रम स्वीकृति लिन विदेशी कामदार आउने गरेका छन्,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक ऋषिराम भुसालले भने, ‘नेपालमा काम गर्न आउनेमा चिनियाँको ठूलो संख्या छ ।’ नेपालमा काम गर्न आउने कुल विदेशीमा दुुई तिहाईभन्दा बढी संख्या चिनियाँ छन् ।

नेपालमा हजारौं भारतीय कार्यरत भए पनि उनीहरूले श्रम स्वीकृति लिने गरेका छैनन् । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धीले प्रदान गरेको सुविधाअनुसार भारतीयहरु नेपालमा श्रम स्वीकृति नलिई काम गर्दै आएका छन् । तर, ठूला बैंक र परियोजनामा काम गर्न आउने भारतीय भने श्रम स्वीकृति लिएर मात्र नेपालमा काम गर्न आउने गरेका छन् ।

नेपालमा काम गर्न आउने विदेशीमा ल्याटिन अमेरिकी राष्ट्रदेखि अफ्रिकी र अष्ट्रेलियादेखि युरोपेली राष्ट्रसम्मका नागरिक छन् । ‘चिनियाँ लगानीका ठूला परियोजना धेरै सञ्चालनमा आएकोले चिनियाँ कामदारको संख्या बढेको हो,’ भुसालले भने । पछिल्लो १६ महिनामा २ हजार १ सय ७० जना चिनियाँले श्रम स्वीकृति लिई नेपालमा काम सुरु गरेका छन् । चिनियाँपछि नेपालमा श्रम स्वीकृत लिएर काम गर्ने ठूलो संख्या बेलायतीको छ । सन् २०१७ जुन १ देखि २०१८ सेप्टेम्बर २७ सम्म २ सय २६ बेलायतीले श्रम स्वीकृती लिएका छन् । नेपालमा काम गर्ने विदेशीमा तेस्रो ठूलो संख्या अमेरिकीको छ । यो अवधिमा एक सय १५ जना अमेरिकीले श्रम स्वीकृति लिएका छन् ।

भारतका ८२, दक्षिण कोरियाका ६५, इटालीका ५६, अष्ट्रेलियाका ३३, जापानका ३२, फ्रान्सका ३१, जर्मनीका २८, बंगलादेशका २३, फिलिपिन्सका २२, स्पेनका १६, बेल्जियमका १४, स्वीट्जरल्याण्डका १३, श्रीलंकाका १३, न्युजल्याण्डका १२, मलेसियाका १२, क्यानडाका ११ र टर्कीका १० जना नागरिकले श्रम स्वीकृति लिएर काम नेपालमा गरिरहेका छन् । नेपालमा काम गर्न आउने विदेशीमा अतिविकसित देखि अति कम विकसित र द्वन्द्वग्रस्त राष्ट्रका नागरिक पनि छन् । विदेशी नागरिकलाई श्रम स्वीकृति प्रदान गर्दा विभागले पहिलो पटक बढीमा तीन वर्षको लागि दिने गर्छ । श्रम स्वीकृति नवीकरण गर्नुपरे थप दुई वर्षको लागि दिने गरिन्छ । श्रम स्वीकृति दिँँदा विभागले ६ महिनाभन्दा कम अवधिको लागि हो भने प्रतिव्यक्ति १५ हजार र सोभन्दा माथिको लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ राजस्व उठाउने गर्छ ।

नेपालमा काम गर्ने विदेशीले पारिश्रमिक न्यूनतम मासिक ४० हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म बुझ्ने गर्छन् । कम तलब बुझ्ने विदेशी कामदारमा बढी चिनियाँ छन् । धेरै चिनियाँहरु ठूला विद्युत् परियोजनामा कार्यरत छन् । अमेरिकी र युरोपेली नागरिकहरु बढी मासिक पारिश्रमिक बुझ्ने विदेशीमा पर्छन् । अमेरिकी तथा युरोपेली राष्ट्रहरुको सहयोगमा नेपालमा सञ्चालित परियोजना तथा संस्थाहरुमा काम गर्ने ती राष्ट्रका नागरिकको मासिक ४० लाख रुपैयाँसम्म तलब तथा सेवासुविधा हुने बताइन्छ ।

Womui
Womui