कृषि क्षेत्रमा बढ्दो लगानी, ४२ उद्योगमा ४६ अर्बको प्रतिवद्धता

159

छिनछिन खबर
काठमाडौं, असोज १८ । पछिल्लो समयमा कृषि क्षेत्रमा लगानी थपिने क्रम बढेको छ । एक वर्षको अवधिमा देशभरि कृषिका ठूला ४२ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ४६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार यसरी लगानी प्रतिबद्धता जनाउनेमा २२ स्वदेशी र २० विदेशी कम्पनी छन् । दर्ता भएका केही उद्योगले स्थापनाको काम समेत थालनी गरिसकेका छन् । स्वदेशी लगानीमा दर्ता भएका उद्योगहरुले २५ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता गरेका छन् । विदेशी लगानीमा २१ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता भएको छ । ती उद्योग सञ्चालनमा आए करिब १ हजार ३ सय जनाले प्रतयक्ष रोजगारी पाउनेछन् ।


नेपाल व्यापार प्रवद्र्धन बोर्डका अनुसार १९७० दशकमा नेपालबाट भारतमा खाद्यान्न निर्यात भएको तथ्याङ्मा देखिए पनि हाल नेपालमा वार्षिक खपतको ४० प्रतिशत भन्दा आयात हुने गरेको छ । नेपालमै कृषि प्रशोधन तथा कृषिजन्य वस्तुको उत्पादन गर्ने उद्योग व्यवसायको खाँचो भएको र त्यस्ता उद्योग दर्ता तथा सञ्चालनको सहजीकरण हुनुपर्ने धेरैको भनाइ छ ।
राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालमा ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छ । तथ्यांक हेर्दा नेपालमा अहिले कृषि उत्पादन भइरहेभन्दा निकै बढी उत्पादन हुनु पर्ने हो । नेपालमा २६ लाख ४१ हजार हेक्टर जमिनमा विभिन्न प्रकारको कृषि खेती हुँदै आएको छ । किसानले उत्पादन बढाउन सिँचाइ, बजार व्यवस्थापनदेखि बीउ बिजन, माटो परीक्षणलगायतका सरकारी सेवा प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन् ।

कुल खेतीयोग्य जमिनमध्ये नेपालमा १७ लाख ६६ हजार हेक्टर जमिनमा मात्र सिँचाइ व्यवस्थापन गर्न सकिने तथ्यांकले देखाउँछ । यसमा पनि वर्षैंभरि सिँचाइ पु¥याउन सकिने खेतीयोग्य जमिन ६७ प्रतिशत छ । भूमिको उपयोग हुनेगरी व्यवसायिक उत्पादन गर्न कृषि प्रशोधन उद्योग अझै धेरै आवश्यकता रहेको बताइन्छ । हाल दर्ता भएर संचालनको तयारीमा रहेको कृषिजन्य उद्योग पनि साना तथा मझौला धेरै रहेकाले यसमा ठूला उद्योगको आवश्यकता रहेको विभागले जनाएको छ ।

तथ्यांक विभागले गत आवको विश्लेषण सार्वजनिक गर्न बाँकी छ । तर गत आवको पहिलो १० महिनाको तथ्यांकलाई आधार मानेर एक वर्षको अनुमानित तथ्यांक केलाउँदै तथ्यांक विभागले कूल गार्हस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको २७.१० प्रतिशत योगदान रहने जनाएको थियो । कूल कृषिजन्य उत्पादनमा आलुको योगदान सबैभन्दा बढी अर्थात १४.७५ प्रतिशतले वृद्धि हुने १० महिनाको तथ्यांकले देखाएको थियो । यस्तै गहुँ र मकैको उत्पादन पनि वृद्धि हुने अनुमान छ । धानको उत्पादनमा केही कमी भएर यसको योगदान १.५ प्रतिशतले कम हुने सम्भावना छ । कूल गार्हस्थ उत्पादनमा अन्य उद्योग क्षेत्रको ५.३९ प्रतिशत, निर्माण क्षेत्रको ७.६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको योगदान १३.२६ प्रतिशत र होटल तथा रेष्टुरेन्टको २.०५ प्रतिशत रहने अनुमान गरेको थियो ।

Womui
Womui