नेपालगन्जका १६ स्थानमा सिसि क्यामेरा जडान

106

नेपालगन्ज, साउन २१-
नेपालगन्जको अधिकांस चोकमा सिसिटीभी जडान गरिएको छ । राँझोदेखी गणेशमान चोकसम्म तथा अन्य भित्री चोकमा गरी कुल १६ स्थानमा ५६ वटा क्यामेरा जडान गरिएको हो । नेपालगन्ज सिसिटभी ब्यवस्थापन समितिको पहलमा उपमहानगर क्षेत्रभित्र सिसि क्यामेरा जडान गरिएको हो । उक्त समितिले विगत ४ महिनादेखी सिसिटीभी जडानका लागि तयारी सुरु गरेको थियो । नेपालगन्जमा सोमबार आयोजित एक भब्य समारोहका बीच सिसिटीभी उद्घाटन गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् सिसिटीभी ब्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बैश्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, विशिष्ट अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणा, प्रमुख जिल्ला अधिकारी मदन भुजेल र प्रदेश पाँचका प्रहरी प्रमुख (डिआईजी) शेरबहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा सिसिटीभी ब्यवस्थापन प्राविधिक समितिका संयोजक सञ्जय थापाले १६ स्थानमा जडित ५६ वटा क्यामेरा आधुनिक किसिमको रहेको जानकारी दिए । क्यामेराको रेजुलेशन फुल एचडी क्षमताको भएका र तार, डिजाईस लगायतका उपकरण पनि अत्यन्त गुणस्तरिय रहेको बताए । सबै सिसिटीभी क्यामेरालाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट निगरानी गर्न सकिने गरी ब्यवस्थित गरिएको छ । ‘सिसिटीभीका लागि ४२ ईन्चका दुई वटा टीभी, ईन्भटर, क्यामेराका लागि १० घण्टासम्मको ब्याकअफ हामीसँग छ,’ उनले भने ‘क्यामेराले कैद गरेको भिडियो प्रस्ट रुपले देख्न सकिन्छ ।’

सिसिटीभी जडानका लागि २५ सदस्यीय समिति गठन गरिएको थियो । समितिका सदस्यले सुरुमा २ लाख ५२ हजार १ सय रूपैयाँ संकलन गरेका थिए । त्यसपछि विभिन्न संघ, संथा, बैर्कस, उद्योगी, व्यवसायी, नेपालगन्ज उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, बस्तुगत संघ कहाँ पुगेर सहयोग संकलन गरिएको थियो । समितिले कुल ४५ लाख ७६ हजार १ सय रुपैयाँ संकलन गरेकोमा हालसम्म समितिको खातामा २७ लाख ८१ हजार ८ सय संकलन भएको र १७ लाख ९४ हजार ३ सय रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता आएको छ ।

सिसिटीभी जडानका लागि ३३ लाख ९७ हजार २ सय ६८ रुपैयाँको लागतमा मुईन इन्टरनेशनल प्रालिसँग सम्झौता गरिएको समितिका कोषाध्यक्ष हर्वेस सोनीले जानकारी दिए । ‘समितिको खातामा वचत हुन आउने ९ लाख ६७ हजार ९ सय ७२ रुपैयाँलाई मर्मत सम्भारमा प्रयोग गरिनेछ,’ सोनीले भने । समितिका संयोजक बैश्यले सबैको सहयोगले सिसिटीभी जडान गर्ने कार्य सफल भएको बताए । सिसिटीभी जडान गरेर मात्र सबै कुरा पुरा नहुने भन्दै यसलाई दिगो रुपले सञ्चालन गर्नु महत्वपुर्ण हुने बताएका छन् । कार्यक्रममा सिसिटीभी जडानमा सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई कदर पत्र प्रदान गरिएको थियो ।

Womui
Womui