केहीबारेमा डा. गोविन्द केसी पक्ष र सरकारबीच पुनः वार्ता, आजै अनसन तोडिन सक्ने

121

मालती ओली
काठमाडौं, साउन ९ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसी र सरकारबीच बुधबार पुनः वार्ता हुँदैछ । मंगलबार साँझ भएको दुई पक्षबीचको संवाद सहमतिनजिक पुगे पनि निष्कर्षमा नपुगेकाले बुधबार बिहान पुनः वार्ता हुने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहरका कुन्दन अर्यालले जानकारी दिए ।

डाक्टर गोविन्द केसी

सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा लगिसकेकाले त्यो फिर्ता नहुने तर केसीका मागका आधारमा केही बुँदा संशोधन हुने उनले बताए । डा. केसी अनशन बसेको बुधबार २६ औं दिनमा प्रवेश गरेको छ। दुई पक्षको सम्झौतापछि आजै डा. केसीको अनसन तोडिनसक्ने सम्भवाना छ । केसी पक्षका संयोजक डा. अभिषेकराज सिंहले मंगलबार साँझ शिक्षा मन्त्रालयमा भएको वार्तामा केही विषयमा सहमतिनजिक पुगेको र केही विषयमा छलफल जारी रहेको बताए । डा‍‍. केसीको वार्ता टोलीले संसदमा पेश चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान छाडेपछि दुई पक्षबीच संवाद सुरु भएको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरी वार्ताको वातावरण बनाएका हुन् । डा‍‍. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन् ।
पूर्ववर्ती देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेस गरिएपछि डा. केसी अनसन बसेका हुन् ।

काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, लगातार तीन वर्ष अस्पताल सञ्चालन गरेको कलेजलाई मात्र सम्बन्धन दिनेलगायत अध्यादेशमा भएको व्यवस्था चिकित्सा शिक्षा विधेयकमा राखिएका छैनन् । यही विधेयकको विरोधमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अनसन बसेका डा. केसीलाई सरकारले गत बिहीबार जबर्जस्ती काठमाडौं ल्याएको थियो ।

Womui
Womui