वैदेशिक रोजगारीमा जानेमध्ये ७० प्रतिशत अदक्ष, किन सीप सिक्न चाँहदैनन् युवा ?

71

मालती ओली
काठमाडौं, जेठ १६ । सिकर्मी काम गर्न कतारको हलिउल्लाह कम्पनीले बोलाएका सोलुखुम्बु, राम्सेका पेम्वा शेर्पा उक्त काम गर्न नसक्दा एक सातामै घर फर्किए ।

फर्निचरको काम गर्न लगाउँदा ३० वर्षीय शेर्पाले नसकेपछि कम्पनीले अघिल्लो महिना घर फर्काइदिएको हो । यतिखेर उनी विदेश जाँदा लागेको खर्च उठाइदिनु प¥यो भन्दै वैदेशिक रोजगार लगायतका निकाय धाइरहेका छन् ।

कतार जानु अघि मेनपावर कम्पनीले गर्नुपर्ने कामबारे प्रष्ट नभनेका कारण फर्कनु परेको दावी गर्दै शेर्पाले वैदेशिक रोजगारीमा जाँदा मेनपावरलाई बुझाएको ८० हजार र अन्य खर्च २० हजारसहित एक लाख रुपैयाँ उठाइदिनु प¥यो भन्ने माग गरिरहेका छन् । ‘विदेश जानु अघि मेनपावरले फर्निचर उद्योगमा काठलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने भनेको थियो,’ उनले भने, ‘तर वास्तविक काम त काठका विभिन्न सामान तयार गर्नु रहेछ ।’

काठका विभिन्न सामान तयार गर्ने सीप नभएका शेर्पालाई कम्पनीले उक्त काम नगरे रोजगारी दिन नसकिने बताएपछि निराश हुँदै घर फर्किए । वैदेशिक रोजगारीमा जानु अघि ऋण लिएका शेर्पाबीचमै फर्केपछि मेनपावरले लिएको रकम फिर्ता नगरे घर, जग्गा लिलाम गर्नुपर्ने अवस्था आउने बताउँछन् ।

वैदेशिक रोजगारीमा गएर राम्रो कमाइ गर्ने र पुरानो घरलाई नयाँ बनाउने योजना बनाएका मोरङ, उर्लाबारी–९ का कृष्ण खत्रीको वैदेशिक रोजगारीको यात्रा पनि एक महिनामै टुगिंयो । ग्रीनतारा मेनपावरले साना सवारी साधन चलाउने गरी ड्राइभरको काम भन्दै मलेसिया उडाएका खत्रीले भने, ‘त्यहाँ त हेभी गाडी चलाउन लगाइयो ।’ हेभी गाडी चलाउन नसकेपछि एक महिनामै फर्केका खत्री यतिखेर सीप नसेकी वैदेशिक रोजगारीमा जाँदा आफूलाई पछुताउ भइरहेको बताउँछन् ।
‘वैदेशिक रोजगारीमा जानु अघि आवश्यक सीप सिकेर गएको भए यतिखेर न वैदेशिक रोजगारीको यात्रालाई बीचमै टुंग्याउनु पथ्र्यो । न लगानी नै डुब्ने थियो, ‘उनले भने । अहिले उनी ग्रीनतारा मेनपावरले लिएको ५५ हजार रुपैयाँ फिर्ता पाउनुपर्ने दावी गरिरहेका छन् ।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा जान जसरी युवाको संख्या बढिरहेको छ । त्यसरी नै सम्बन्धित कामबारे सीप नसकेर वैदेशिक रोजगारीमा जाँदा जोखिममा पर्ने र लगानी डुबाउने क्रम पनि बढेको छ । वैदेशिक रोजगारीमा जानु अघि सम्बन्धित काममा दक्ष भएर जानु पर्ने आवाज उठे पनि धेरैले चासो नदिँदा अन्तिम समयमा क्षति बेहोर्ने धेरै छन् । ‘सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा एकातिर स्वयम् कामदार जोखिममा पर्ने गरेका छन् भने अर्कोतर्फ उनीहरूले पाउनु पर्ने पारिश्रमिक पाउन सकेका छैनन्,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भने, ‘वैदेशिक रोजगारीलाई कम जोखिमयुक्त बनाउन र राम्रो पारिश्रमिक प्राप्तीका लागि कामदारलाई दक्ष बनाउन जरूरी छ ।’
पछिल्लो दुई वर्षयता पाँच लाख बढी युवायुवती श्रम स्वीकृति लिएर खाडी लगायत मलेसिया पसे पनि वैदेशिक रोजगारीमा गएका युवायुवतीको संख्याको तुलनामा कम रेमिटेन्स भित्रएको सरकारी अधिकारीहरू बताउँछन् । ‘वर्षमा कमाउन सक्ने उमेरका पाँच लाख युवायुवती वैदेशिक रोजगारीमा पठाएको देशले अहिले आर्जन गरिरहेको रेमिटेन्समा चित्त बुझाउन सकिँदैन,’ वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले भने, ‘यदि युवायुवतीलाई सीप सिकाएर वैदेशिक रोजगारीमा पठाउन सकेको भए अहिलेको तुलनामा पक्कै पनि बढी रेमिटेन्स आर्जन हुन्थ्यो ।’

सीप नसिकेर वैदेशिक रोजगारीमा जाने क्रम बढिरहँदा विदेशमा नेपाली युवाहरू ‘अंग्रेजीमा थ्रिडि (फोहरी, जोखिम र कडा)’ भनिने काम गर्न बाध्य हुने गरेका छन् । मलेसिया जानु अघि मेनपावर कम्पनीले भने अनुसारको काम नपाएपछि फर्किएका कोटेश्वरका मीनबहादुर तामाङले भने, ‘विदेश जानु अघि कामदारले सम्बन्धित काम जाने/नजानेको बारे सरकारी निकायले राम्रोसँग जाँच गरेपछि मात्र श्रम स्वीकृति दिनु पर्छ ।’ मलेसिया जानु अघि मेनपावरले उनलाई विजुलीका सामान बिक्री गर्ने पसलमा काम गर्ने जानकारी दिएको थियो । तर, मलेसियामा पुगेपछि भने कम्पनीले वायरिङको काम लगाउन खोजेपछि तामाङ घर फर्किएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार यतिखेर कामको खोजीमा विदेश पस्ने युवायुवतीमध्ये ७० प्रतिशत बढी सम्बन्धित काममा अदक्ष हुने गरेका छन् । विभागका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा पाँच लाख १२ हजार युवायुवती वैदेशिक रोजगारीमा जाँदा ६४ हजार छ सय युवायुवती मात्र सीप सिकेर विदेश पसे । वैदेशिक रोजगारीमा दक्ष कामदारको माग बढे पनि नेपालमा प्राविधिक सीप सिकेका दक्ष जनशक्ति तयार हुन नसकेको भुक्तभोगी कर्मचारीको अनुभव छ । ‘नेपालमा स्नातक वा स्नातकोत्तर तहको शिक्षा पूरा गर्दैमा त्यस्ता कामदारलाई दक्ष भन्न मिल्दैन,’ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निमित्त कार्यकारी निर्देशक धीरकुमार श्रेष्ठले भने, ‘जुन कामका लागि जनशक्ति आवश्यक परेको हो । सोही काम जानेलाई मात्र दक्ष भन्न सकिन्छ ।’

यतिखेर विदेशमा सिकर्मी, डकर्मी, पलम्बर, क्लिनर, वेटर, ड्राइभिङ, व्युटीसियन, इलेक्ट्रिसियन जस्ता सीप जानेका कामदारको अधिक माग रहेको मेनपावर व्यवसायी बताउँछन् । यस्ता सीप जानेका युवायुवतीको संख्या मागको तुलनामा भने सधैँ कमी हुने गरेका छन् ।

Womui
Womui