एमालेले किन स्वीकार गरेन तल्ला कमिटीमा दुई अध्यक्ष राख्ने माओवादी प्रस्ताव ?

37

काठमाडौ, १८ चैत । केन्द्रमा जस्तै तल्ला कमिटीमा पनि दुई अध्यक्ष राख्ने माओवादी केन्द्रको प्रस्ताव एमालेले अस्वीकार गरेको छ । सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने भन्दै एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव राख्ने प्रस्ताव गरेको हो ।

केन्द्रीय कमिटीमा एमाले र माओवादीको बाँडफाँट नमिलेका कारण अन्य कमिटीहरु कसरी समायोजन गर्ने प्रस्ताव तयार पार्न नसकेको कार्यदल सदस्य बेदुराम भुसालले बताए ।
माओवादी नेता जनार्दन शर्माले भने केन्द्रदेखि तल्लो तहसम्म समानताको सिद्धान्तअनुसार एकीकरण गर्नुपर्ने भएकाले पार्टी एकता संयोजन समितिमा छलफल आवश्यक रहेको बताए । केन्द्रदेखि तलैसम्म प्रतिशतका आधारमा समायोजन हुन नसक्ने उनको तर्क छ ।

एमाले नेता भुसालले भने संख्यामा समानताको सिद्धान्त लागु नहुने दावी गरे । ‘समानता भनेको बिचार, सिद्धान्त, दृष्टिकोण र नीतिमा हुने हो । संख्यामा समानता हुँदैन,’ उनले भने, ‘यसबारेमा संयोजन समितिले टुंगो लगाउने भएकाले अहिले तल्ला कमिटीको एकीकरणबारे निर्णय हुन नसकेको हो ।

केन्द्रीय कमिटीको संख्या २९९ राख्ने सहमति भए पनि त्यसमा एमालेका र माओवादीका कति, कति सदस्य रहने भन्ने विषय अहिले सबैभन्दा पेचिलो बनेको छ । एमाले नेताहरुले आफ्ना २ सय केन्द्रीय सदस्य र माओवादीका ९९ जना समायोजन गरेर २९९ सदस्यीय बनाउन सकिने प्रस्ताव राखेको छ । तर माओवादी पक्ष त्यसमा सहमत छैन ।
माओवादी नेता शर्माले जिल्ला कमिटी पनि संख्या तोकेर बाँड्न नहुने बताए । शर्माले भने, ‘व्यवहारिकता, सांगठनिक आधार, जनमत, बरिष्ठता हेरेर एउटा प्रमुख, अर्को उपप्रमुख हुने गरी कमिटी समायोजन हुने विधी बन्छ ।’

Womui
Womui