माओवादी नेता शेष हतियारसहित पक्राउ

162

नेपालगन्ज-नेकपा माओवादी केन्द्रका स्थानीय नेता गरिबे शेष हतियारसहित बाँकेको खजुराबाट पक्राउ परेका छन् । लामो समयदेखि हतियारको अबैध कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा पाँच नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको प्रहरी टोलीले खजुराबाट शेषलाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ५ उढरापुरस्थित आफ्नै घरमा हतियारको मोल गर्दै गरेको अवस्थामा प्रहरीले शेषलाई पक्राउ गरेको थियो । उनी नेकपा माओबादी केन्द्र बाँकेका जिल्ला कार्यसमिति सदस्य हुन् । गत स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नम्वर ५ मा वडाअध्यक्षका उम्मेदवार भएपनि शेष पराजित भएका थिए । माओबादी नेता शेषको साथबाट प्रहरीले पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागजिन एक थान र चार राउन्ड गोली बरामद गरेको छ । शेषबाट ५० हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । शेषले धेरै अगाडीदेखि भारतबाट अबैध हातहतियार ल्याएर बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । शेषलाई पक्राउ गर्ने क्रममा उनका समर्थकले केहीबेर नारावाजी र अबरोधको प्रयास गरेका थिए । शेषलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

यद्यपी बाँके प्रहरीले भने उक्त घटनालाई लुकाउने प्रयास गरेको छ । यस विषयमा पटक–पटक सम्पर्क गरेर बुझ्ने कोसिस गर्दापनि निमित्त प्रहरी प्रमुख एवम् डिएसपी राजेन्द्र अर्याल सम्पर्कमै आउन चाहेनन् । स्रोतका अनुसार नेकपा माओबादी केन्द्रले पनि हतियार सहित पक्राउ परेका शेषलाई छुटाउन निकै प्रयास गरेको छ । माओबादीका केन्द्रिय स्तरका नेताले समेत फोन गरेर प्रहरीलाई दवाव दिएको बताइएको छ ।

Womui
Womui