सुशासन र सद्भावयुक्त समाज निर्माण गर्ने निरञ्जनको प्रण

147

नेपालगन्ज-करिव साढे दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय निरञ्जनसिंह सिजापति पहिलो पटक सदनमा उक्लेर आमजनताको सेवा गर्ने सोंचमा छन् । नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसमा लामो समय योगदान पुरयाएका सिजापति बाँके, प्रदेश सभा–२ ‘क’ को उम्मेदवार बनेका छन् । अढाई दशक पार्टीको संगठन निर्माणमा सिजापतिले पुरयाएको योगदानको कदर गर्दै नेपाली काँग्रेसले सिजापतिलाई नीति निर्माण तहमा पुरयाउन अहिले अवसर प्रदान गरेको छ । नेपालगन्जका रैथाने सिजापति यहाँको विविधतायुक्त समाजमा आफूलाई पृथक रुपमा चिनाउन सफल व्यक्ति पनि हुन् । हिन्दु, मुस्लिम, पहाडी, मधेशी सबै समुदायमा घुलमिल भई आफ्नो फरक अस्तित्व बनाएका सिजापति बाँके जिल्लामै चिनिएको नाम हो ।

२०४० सालमा महेन्द्र बहुमुखी क्याम्पसबाट उनले बिद्यार्थी राजनीति थाले । नेपाल विद्यार्थी संघको ईकाई सदस्यबाट राजनीतिक यात्रा थालनी गरेका सिजापतिले २०४२ सालको सत्याग्रह आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । त्यसपछि नेपाल विद्यार्थी संघ बाँकेको सचिव हुँदै २०४७ सालदेखि २०५१ सालसम्म नेपाल विद्यार्थी संघ बाँकेको नेतृत्व गरे । स्नातक तहसम्मको अध्ययन पुरा गरेका सिजापति पहिलो पटक नै प्रादेशिक संसदमा पुगेर यस क्षेत्रका नीतिगत समस्याहरु सुल्झाउने सोंच सहित मतदाता रिझाउन प्रचार–प्रसारमा सक्रिय छन् । आफ्नो निर्वाचन क्षेत्रका प्रायः सबै मतदातासम्म पुगेर उनीहरुको मन् बुझ्दै गरेका सिजापति आफू विजयी हुनेमा ढुक्क छन् । उनी भन्छन्, ‘म चुनाव जित्दैछु भनेर विश्वस्त छु । किनभने यहाँका जनताको मन मैले बुझेको छु र जनताले पनि मलाई राम्ररी जानेबुझेकै छन् ।’ ‘प्रादेशिक संसद भनेको प्रदेशको कानुन बनाउने थलो पनि हो । जनताले पहिलो पटक आफ्नो प्रदेशका लागि नीति, नियम र कानुनहरु बनाउँदैछन् । त्यसैले पनि योग्य र सक्षम उम्मेदवारहरुलाई जिताएर यहाँका मतदाताहरुले आफ्नो बैद्धिकता दर्शाउन चाहेका छन् ।’

सिजापतिले भने, ‘पार्टीमा रहँदा संगठन निर्माण र सामाजिक काममा मैले गरेको योगदानको पार्टीले कदर गरयो । अब आम जनताका निम्ति काम गर्न यहाँका मतदाताले मलाई बिजयी गराएर अवसर प्रदान गर्नुहुने छ ।’ पार्टीका नेता कार्यकर्ताले गरेको मुल्यांकन र जनताको मुल्यांकन फरक कुरा हो । नेता–कार्यकर्ताकै अनुरुप आमजनताले पनि मुल्यांकन गरिरहेको नहुन सक्छ । जनताले सिजापतिको मुल्यांकन कसरी गरिरहेका छन् त ? त्यो त चुनावी परिणामले नै प्रष्ट्याउँला । जनताले सही मुल्यांकन गर्ने त्यस्तो के काम गरेका छन् त सिजापतिले ? ‘पार्टी संगठनमा लामो समय लाग्दा पनि कमै मात्र अवसर पाउने भनिएको म नै हुँ । तर, जे जति अवसरहरु पाएँ त्यसमा आफूलाई अब्बल साबित गरिसकेको छु । मैले मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको सदस्य सचिव हुँदा खेलकुदका क्षेत्रमा पुर्याएको योगदान र कोहलपुर नगर विकास समितिको अध्यक्ष हुँदा गरेका सुधारात्मक कदमबाट यहाँका जनता जानकार हुनुहुन्छ ।’, सिजापतिले भने, ‘विगतमात्र हैन कि यो क्षेत्रको विकास निर्माण र सुन्दर भविष्यका लागि मैले अघि सारेका एजेण्डाहरु पनि मेराबारे जनताले गर्ने मुल्यांकनको अर्को आधार हो ।’

नीति–नियम र ऐन–कानुन बनाउने अलावा सिजापतिसँग के–कस्ता विकासका एजेण्डा छन् त ? ताकि जनताले सिजापतिको एजेण्डामा समर्थन जनाउँदै उनलाई मतदान गरुन् ? ‘नगरका केही वार्ड र डुडुवा गाउँपालिका मेरो क्षेत्रमा पर्छ । डुडुवा गाउँपालिका नगरसँगै जोडिएको भएपनि विकासका दृष्टिले निकै पछाडी छ । म यहाँ कलेज स्थापना गर्नेछु । बर्षेनी बाढीको समस्या झेल्दै आएको राप्ती पीडित डुडुवावासीका लागि स्थायी समाधान खोज्नेछु ।’ सिजापति भन्छन्, ‘स्वास्थ्योपचारका लागि पनि डुडुवावासीले सँधै सास्ती ब्यहोर्नुपरिरहेको छ । म यहाँ ५० शैयाको अस्पताल निर्माण गर्नेछु ।’ सिजापतिले प्रदेश सभा–२ ‘क’ को विकासका लागि अरु पनि थुप्रै योजनाहरु अघि सारेका छन् । उनले प्रत्येक बस्तीमा सडकको पहुँच पुर्याउने र भएका सडकहरुको स्तरोन्नती गर्दै सार्वजनिक यातायातको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै कृषि एवम् प्राविधिक शिक्षालयको सञ्चालन गरी दक्ष तथा सीपयुक्त नागरिक बनाउन व्यवसाय मुलक र सीपमुलक तालिमहरु निशुल्क रुपमा सञ्चालन गर्ने पनि उनको योजना छ । ‘प्रतिस्पर्धी उम्मेदवारहरुले अघि सारेका जस्ता विकासका महत्वाकांक्षी एजेण्डा केही छैनन् मेरा । म निर्वाचित भएमा पाँच बर्षसम्ममा गर्न सक्ने कामहरुको फेहरिस्त मात्र मैले मतदातासमक्ष राखेको छु । आफ्नो अधिकार र बलबुताभन्दा बाहिर गएर झुठा आश्वासन बाँड्दै जनता झुक्याउने पक्षमा म छैन ।’, सिजापतिले भने, ‘कसले कति गर्न सक्छ ? कसको क्षमता कति छ र कसका के–कति अधिकार छ भन्ने पनि नबुझ्ने अबुझ जनता अब छैनन् । त्यसैले सबै उम्मेदवारका प्रतिबद्धताहरुबारे पनि मतदाताले अध्ययन गरेर उचित निष्कर्षमा पुग्ने छन् भन्नेमा अब कसैलाई पनि द्धिविधा नहोला ।’ सिजापतिले भ्रष्टाचारमुक्त र सद्भावयुक्त समाज बनाउने पनि प्रण गरेका छन् । उनी भन्छन्, ‘भ्रष्टाचार नियन्त्रण गर्न सकियो भनेमात्र पनि विकास निर्माणका काममा ठूलो रकम लगानी गर्न सकिन्छ । त्यसैले मेरो प्राथमिकता भनेको सुशासन र पारदर्शिता पनि हो ।’ २५ बर्षे राजनीतिक यात्रामा कुनै पनि काम गर्दा आफूलाई अरोपित र आलोचित हुनबाट जोगाएका सिजापतिले जित्ने आधार सुशासनप्रतिको आफ्नो प्रतिवद्धतालाई पनि ठानेका छन् ।

Womui
Womui