राजनीतिक सभा गर्ने थलो बन्दै त्रिभुवन चोक

68

arniko-suppliers-copy

खगेन्द्र दाहाल
नेपालगन्ज, पुस २२-
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार नेपालगन्जको त्रिभुवन चोकमा क्षेत्रीय स्तरको आमसभा गर्दा दिनभर त्यसक्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो । सर्वसाधारणले स्वतन्त्र पुर्वक सडकमा ओहोर–दोहोर गर्न पाएनन् । दिनभर कार्यक्रम चल्दा त्यसक्षेत्रको व्यापार व्यवसाय पुरै ठप्प भयो । करोडौंको व्यवसायिक कारोबार प्रभावित भयो । राप्रपाको आमसभाले त्रिभुवन चोकको ट्राफिक व्यवस्थामा असर पु¥याउनेतर्फ स्थानीय प्रहरी प्रशासनले पहिल्यै अड्कल नगरेको पनि होईन् ।

राप्रपाले बुधबार त्रिभुवन चोकको पुर्वी सडकमा गरेको आमसभा । तस्बिर : खगेन्द्र दाहाल
राप्रपाले बुधबार त्रिभुवन चोकको पुर्वी सडकमा गरेको आमसभा । तस्बिर : खगेन्द्र दाहाल

प्रशासनले उक्त आमसभालाई नेपालगन्ज रंगशाला वा विपी चोक पछाडीको आँप बगियामा गर्न आग्रह गरेको थियो । तर, राप्रपाको केन्द्रिय नेतृत्वको दवावका अगाडी प्रशासनको पनि केही सिप चलेन । पाँच हजार व्यक्ति अटाउन मुस्किल पर्ने त्रिभुवन चोक क्षेत्रमा राप्रपाले ५० हजार जनता उतार्ने लक्ष्य लिएको थियो । नेपालका चर्चित कलाकारद्धय कोमल ओली र रेखा थापालाई हेर्ने उत्सुकताले गर्दा पनि राप्रपाले ठुलो संख्यामा जनसहभागीता जुटायो । एक त साघुँरो ठाउँ, त्यसमा पनि पटक–पटक राजनीतिक सभा गरिदाँ त्यसको प्रत्यक्ष असर सर्वसाधारण र व्यापारीले व्यहोर्नु परिरहेको छ । यो त एउटा ज्वलन्त उदाहरण मात्र हो । यस्ता आमसभा दलपिच्छे यही ठाउँमा हुने गरेका छन् । बाँकेका राजनीतिक दलले त्रिभुवन चोक सहित बजारका मुख्य चोक, सडकलाई कब्जा गरी पार्टीका आमसभा, विरोधसभा र प्रर्दशन गर्ने थलोका रुपमा विकास गर्न थालेका छन् ।

त्रिभुवन चोक क्षेत्र दलहरुले राजनीतिक सभा गर्ने थलो बनिरहँदा यहाँका व्यापारी व्यवसायी निकै पीडित बनेका छन् । यहाँका व्यापारीहरु राजनीतिक दलप्रति आक्रोशित छन् । स्थानीय व्यवसायी दिनेश गुप्ता सडकमा राजनीतिक सभा भएको दिन व्यापार ठप्प हुने बताउँछन् । ‘जुन दिन यहाँ राजनीतिक सभा हुन्छ, त्यो दिनको व्यापार एक सुख्खा पनि हुदैन,’ उनले भने ‘राजनीतिक दलहरुमा गलत संस्कार बस्यो ।’ अर्का किराना व्यवसायी बनवारीलाल भन्छन, ‘आमसभा भएको दिन पसल बन्द गरेर बस्नुपर्छ, नत्र पसल खोलेपनि माइकको चर्को आवाज सुनेर दिन बिताउने काम हुन्छ ।’ त्रिभुवन चोकमा सभा, सम्मेलन तथा कार्यक्रम गर्न राजनीतिक दलबीच प्रतिस्पर्धा नै चल्ने गरेको छ । सानादेखि ठुला दलले यही क्षेत्रलाई लामो समयदेखि कार्यक्रम गर्ने थलो बनाइरहेका छन् । कतिपय दलले त त्रिभुवन चोकलाई आफ्नो राजनीतिक ईलाका समेत नाम दिएर यही क्षेत्रलाई प्रभावित पार्ने गरी कार्यक्रम गरेको पाईन्छ ।

लामो समयदेखि राजनीतिक दलहरुबाट पीडित बनेका व्यापारी व्यवसायीले प्रतिवाद नगरेपनि उनीहरुमा चर्को असन्तुष्टी छ । बेला–बेलामा हुने राजनीतिक सभाले नेपालगन्ज उद्योग बाणिज्य संघको नियमित काममा समेत असर पु¥याउने गरेको संघका कार्यालय प्रमुख अजयसिंह सिजापतिले बताए । ‘मुख्य सडकमा कार्यक्रम गर्दा आवत–जावत गर्ने सर्वसाधारण र व्यापारी व्यवसायीलाई असर गर्छ नै त्यसमाथि उद्योग बाणिज्य संघको छेउमै कार्यक्रम हुँदा हाम्रो नियमित कामलाई पनि प्रभावित पार्छ,’ उनले भने । राप्रपा बाँकेका अध्यक्ष ऋषि देवकोटा पहिले देखि नै त्रिभुवन चोक आफ्नो पार्टीको लागी शुभ रहेको जिकिर गर्दै पुनः सोही ठाउँमा आमसभा गर्नुपरेको बताउँछन् । ‘जतिबेला राप्रपाले बाँकेका तीन वटै क्षेत्रमा सिट जितेको थियो, त्यतिबेला पनि त्रिभुवन चोकमै हामीले यस्तै सभा गरेका थियौं,’ देवकोटाले स्मरण गर्दै भने । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सह–महामन्त्री पशुपतिदयाल मिश्रले सडक र मुख्य चोकमा कार्यक्रम गरिदा जनतालाई बटुल्नुनपर्ने भएका कारण त्रिभुवन चोक कतिपय दलको रोजाईमा पर्ने गरेको बताए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले राजनीतिक दलले चोक तथा सडक कब्जा गरेर कार्यक्रम गर्दा सर्वसाधारण र व्यापार व्यवसायलाई असर पु¥याउने गरेको बताए । यस्ता कार्यक्रमलाई व्यवस्थित रुपले गरिनुपर्ने उनको सुझाव छ । सम्पुर्ण राजनीतिक दल तथा धार्मिक संस्थाका प्रतिनिधी बसेर विकल्प रोज्नुपर्ने बैश्यले सुझाव दिए । उद्योगी व्यवसायीलाई यस्तो कार्यक्रम आयोजना गर्दा मर्कापर्ने भन्दै सम्वन्धित सरोकारवालाले गम्भिर भएर सोच्नुपर्ने बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सडक नै अवरुद्व पारेर गरिने राजनीतिक सभा, सम्मेलनप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । यस विषयमा चाडै सर्बदलिय बैठक बोलाएर छलफल गरी उचित निर्णय लिने उनले जानकारी दिए ।

Womui
Womui